स्थानीय युवाको पहलमा खेर गइरहेको लालचन अन्तर्राष्ट्रिय बजारतर्फ


झापा,बैशाख १० 

नेपालका गाउँघरमा खेर गइरहेको एक बहुउपयोगी फल ‘लालचन’ (रातो इमली/रोजेल) लाई व्यावसायिक रूपमा स्थापित गर्ने प्रयासमा अंगत मल्ल जुटेका छन्। स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिने यो वनस्पति नेपालमा उपेक्षित रहँदा अन्तर्राष्ट्रिय बजारमा भने यसको उच्च माग रहेको छ।

अंगत मल्लका अनुसार लालचन कुनै नयाँ वनस्पति होइन। यो नेपालका पहाडी तथा तराई क्षेत्रका वनजंगल र बारीबगैंचामा सजिलै पाइने परम्परागत बिरुवा हो। यसको उपयोगिता चटनी,अचार,जुस, सुप, चिया र औषधीय उत्पादनसम्म फैलिएको छ। विशेषतः महिनावारीका पीडा कम गर्ने, पाचन सुधार गर्ने, शरीरको तौल घटाउने, क्यान्सर प्रतिरोधात्मक तत्व भएको र रक्तचाप सन्तुलनमा राख्ने जस्ता विविध फाइदाका कारण यो फल स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिन्छ।

“लालचनमा आइरन र क्याल्सियम जस्ता खनिज तत्व प्रशस्त मात्रामा पाइन्छ,” मल्ल भन्छन्, “यसले रगतमा हेमोग्लोबिन बढाउने, महिनावारी नियमित गर्ने र गर्भवती महिलाका लागि समेत लाभदायक हुने तथ्य अनुसन्धानले पुष्टि गरेका छन्।” साथै, यसको बीजबाट निस्कने तेल जोर्नी दुखाइ कम गर्न प्रयोग गर्न सकिने उनले जानकारी दिए।

हाल मल्ल बर्दिया जिल्लाबाट ल्याइएको ताजा लालचन बिक्री गर्दै आइरहेका छन्। बजारमा यसको मूल्य प्रति किलो करिब ५०० रुपैयाँ रहेको र सुकाइएको अवस्थामा अझ महँगो पर्ने उनले बताए। “अन्य व्यापारीहरूले २० ग्रामको ९५० रुपैयाँमा बिक्री गर्दा म भने ८० ग्राम सोही मूल्यमा उपलब्ध गराउँदै आएको छु,” मल्लले भने।

नेपालमा लालचनको व्यावसायिक खेती सीमित मात्रामा भएकाले यसको मूल्य तुलनात्मक रूपमा उच्च छ। जेठ/असारमा रोपिने यो बिरुवा कात्तिक/मंसिरमा फल टिप्न मिल्ने अवस्था पुग्छ।

अंगत मल्लजस्ता युवाहरूको पहलले परम्परागत तर ओझेलमा परेका उत्पादनलाई बजार दिन सक्ने मात्र नभई किसानहरूको आय वृद्धि र ग्रामीण अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ। साथै, यसबारे पर्याप्त जनचेतना फैलाउन सकिएमा नेपालीहरूको स्वास्थ्यमा समेत दीर्घकालीन लाभ पुग्न सक्ने विज्ञहरू बताउँछन्।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते