कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति
१३ सदस्यीय नयाँ समिति गठन गरिएको उक्त भेला बिर्तामोड–९ मा सम्पन्न भएको हो। समितिले वडा अध्यक्ष हरिप्रसाद चौलागाईंको उपस्थितिमा भेला सम्पन्न भएको जानकारीसहित नामावली र संस्थाको खाता सञ्चालन सम्बन्धी निर्णय खानेपानी डिभिजन कार्यालय चन्द्रगढीमा बुझाउने निर्णय गरेको जनाइएको छ।
समितिका अन्य पदाधिकारीमा उपाध्यक्ष गौरी प्रसाद घिमिरे, सचिव हरि बहादुर कार्की, कोषाध्यक्ष विष्णु माया कोइराला र सहसचिवमा राजेन्द्र सिटौला चयन गरिएका हुन्। सदस्यहरूमा तारानिधि खनाल, शान्ती मार्डे, कल्पना बिक, जयराज ढकाल, कृष्ण प्रसाद उप्रेती, मोहन उप्रेती र पर्शुराम पाठक रहेका छन्।
यसअघि फागुन ७ गते लक्ष्मी मोतेको अध्यक्षतामा सम्पन्न भेलाले कोलाटोलीमा खानेपानी योजना सञ्चालन गर्न नयाँ उपभोक्ता समिति आवश्यक रहेको ठहर गर्दै समिति गठन प्रक्रिया अगाडि बढाइएको थियो।
तर समितिको गठनप्रति सर्वपक्षीय सहमति भने देखिएको छैन। नेपाली कांग्रेस बिर्तामोड–९ वडा कमिटी अध्यक्ष वासुदेव अधिकारीले आफूहरूले राखेको मागको उचित सुनुवाई नभएको भन्दै असहमति जनाएका छन्। उनका अनुसार माओवादी केन्द्रका वडा पदाधिकारी साथै नगर इन्चार्ज मोहन सुब्बा, राप्रपा वडा कमिटि पनि समितिबारे असहमति राख्ने पक्षमा छन्।
अधिकारीले भने, "अघिल्लो समितिको आम्दानी–खर्च पारदर्शी छैन,लेखापरीक्षण सार्वजनिक गरिएको छैन, र जग्गा संस्थाको नाममा दर्ता भएको छैन। यी विषय समाधान नगरी नयाँ समिति गठन गर्नु उपयुक्त हुँदैन।" साथै उनले सहसचिव राजेन्द्र सिटौलाको नाम पनि नवगठित समितिबाट फिर्ता गराइएको समेत अधिकारीले स्पष्ट पारे।
Comments
Post a Comment