आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया
२८ असार,झापा
संघका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षता, वरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रम राष्ट्रिय गान र शहिदहरु प्रति एक मिनेट मौन धारण गरि प्रारम्भ गरिएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि थापाले ब्यानर वाचन गर्दै गर्नुभएको थियो।
कार्यक्रममा संघका सल्लाहकार प्राज्ञ सुमित्रा बाङ्देल चेलीले संघको संक्षिप्त परिचय प्रस्तुत गर्दै वि.सं. २०६७ सालमा स्थापना भएको संघले आदिवासी जनजाति समुदायका जेहेन्दार नेत्रहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको, साथै आफ्नै भवन निर्माणको पहलसमेत अगाडि बढाइरहेको जानकारी दिनुभयो।
संघका सल्लाहकार तथा आदिवासी अभियन्ता कृष्णकुमार थेबेले संघले नौलो प्रयासका रूपमा सञ्चारकर्मीसँग साक्षात्कार कार्यक्रम आयोजना गरेकोमा संघका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले संघ र सञ्चार क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा संघका नवनिर्वाचित पदाधिकारीहरू अध्यक्ष भोजकुमार तामाङ, उपाध्यक्ष नरेन्द्रकुमार लिम्बु, सचिव हिमाल राई, सहसचिव कबिराज कुमाल,कोषाध्यक्ष कौशल्या देवी गुरुङ तथा सदस्यहरू बैजनाथ गणेश, रघुनाथ ताजपुरिया,मञ्जु तामाङ र भीमकुमारी श्रेष्ठलाई प्रमुख अतिथिलगायत अतिथिहरूले प्रमाणपत्र वितरण गर्नुभएको थियो। प्रमाणपत्रको वाचन सञ्चारकर्मी नरेन्द्र ढकालले गर्नुभएको थियो।
प्रमुख अतिथि शिवशंकर थापाले विगतका दिनहरू स्मरण गर्दै आफ्नै घरबाट स्थापना भएको संघले आज उल्लेखनीय प्रगति गरेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा संघ अझ सशक्त रूपमा अघि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजबंशी,बिर्ताज्योति साप्ताहिकका तुलसी निरौला, ओरेन्ज समाचारका सन्तोष बेघालगायत सञ्चारकर्मीहरूले संघ सञ्चालनका चुनौती,आगामी योजना तथा सञ्चार क्षेत्रबाट हुन सक्ने सहयोगका विषयमा जिज्ञासा राख्नुभएको थियो। सोको जवाफ दिँदै संघका अध्यक्ष भोजकुमार तामाङले संघले स्थापना कालदेखि नै अनेकौँ चुनौतीहरूको सामना गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा सञ्चारकर्मीहरूको सहयोग,साथ र सकारात्मक भूमिकालाई अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
सो अवसरमा उँहाले संघले स्थापना गरेको झापाली आदिवासी जनजाति नेत्रहीन सहारा छात्रवृत्ति अक्षयकोषमा सहयोग पुर्याउने समाजसेवी शेरबहादुर थापा, केशवराज न्यौपाने,गीता देवी चेम्जोङलगायत सहयोगीप्रति विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो।
त्यसैगरी प्रेरणादायी व्यक्तित्व हेलेन केलरको १४६औँ जन्मजयन्तीको अवसरमा संघले भर्खरै सम्पन्न गरेको अपांगता भएका व्यक्तिहरूकालागि राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा प्रथम हुने उदयपुरका आशा राई, द्वितीय हुने तेह्रथुमका लक्ष्मी दर्जी,तृतीय हुने उदयपुरका पार्वती परियार तथा सान्त्वना स्थान हासिल गर्ने इलामका विशाल पौडेल र कन्चनपुर जिल्ला भीमदत्त नगरपालिकाका अम्बादत्त जोशीलाई समेत बधाई तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो। उक्त कबिता बाचन बाचन कार्यक्रमको प्रथम पुरस्कार संघका पदाधिकरीहरु क्रमश अध्यक्ष भोज कुमार तामाङ्गबाट रु १०००, सचिव हिमाल राईबाट रु.१००० कोषाध्यक्ष कौशल्या देबी गुरुङ्गबाट रु.१०००,सहसचिव कबिराज कुमाल बाट रु. १००० संस्थापक सचिव अनिल मुखियाबाट रु.१००० साधारण सदस्य सन्ध्या इङ्गनामबाट रु.५०० र संघको कोषबाट रु.१५०० जम्मा गरि संघको तर्फबाट रु.७००० दित्तिय पुरस्कार समाज सेवी केशवराज पाण्डेबाट रु.५००० तृतिय पुरस्कार सुनसरी धरान निबासी इन्द्रहाङ लिम्बुबाट रु.३००० सान्तवना पुरस्कार झापा निबासी समाजसेवी इन्द्र बुढाथोकीबाट रु.२००० उपलब्ध गराउनुका साथै सुनसरी धरान निबासी प्राध्यापक डा. खेमराज खनालले कार्यक्रम ब्यबस्थापन गर्ने प्रयोजनका लागि रु. ४००० उपलब्ध गराउनु भएको जानकारी गराउनु भयो। साथै आजको पत्रकार साक्षात्कार कार्यक्रमकोलागि उद्योग बाणिज्य संघ बिर्तामोडले सभा हल र दमक -८ निबासी रोशन थापाले साउण्ड सिस्टम निःशुल्क रुपमा उपलब्ध गराउनु भएकोमा उहाँहरु प्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
संघकी कोषाध्यक्ष कौशल्या देवी गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा संघका संस्थापक सचिव अनिल मुखियाले कार्यक्रमको बारेमा प्रष्ट पार्नु भएको थियो। कार्यक्रमको सञ्चालन संघका सचिव हिमाल राईले गर्नुभएको थियो।
Comments
Post a Comment