झापा नेत्रहिन संघको दुई महिने कम्प्यूटर तालिमको उद्घाटन
२५ बैशाख,बिर्तामोड
झापा नेत्रहिन संघको आयोजना र मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न हुने दुई महिने आधारभूत कम्प्यूटर तालिमको एक कार्यक्रमका बिच आज उद्घाटन गरिएको छ। बिर्तामोड-३ बिर्ता बजार स्थित संघको कार्यलयमा प्रशिक्षण प्रदान गरिने आयोजकका तर्फबाट प्रशिक्षक मूना भट्टराईले जानकारी गराईन्। उनका अनुसार प्रशिक्षणमा एनभिडिए सफ्टवेयर मार्फत वर्ड,एक्सेल,इ-मेल,पावर पोइन्ट बारे प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराईनेछ। संघको कार्यलयमा स्थित पाँचवटा कम्प्यूटर मार्फत दुई सिफ्ट गरेर जम्मा दश जना संघका दृष्टि सम्बन्धि अपांगता भएका सदस्यहरुलाई प्रशिक्षण प्रदान गरिने संघका अध्यक्ष होमनाथ राजबंशीले जानकारी गराए। प्रशिक्षार्थीको दैनिक यातायात खर्च आयोजकले ब्यहोर्ने समेत उनले जानकारी दिए। सोही कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका तर्फबाट दृष्टि सम्बन्धि अपांगता भएका सदस्यहरुलाई पाँच थान सेतो छडी समेत सहयोग गरिएको हो। सो छडी बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव कुशल खतिवडाले उक्त कार्यक्रममा झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै आयोजकका तर्फबाट झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीले कम्प्यूटरको प्रशिक्षणले संघका सदस्यहरुलाई रोजगार प्रदान गर्न सहयोग पुग्ने धारणा राख्नुका साथै यस महान कार्यमा आर्थिक सहयोग प्रदान गर्नु हुने मेचीनगर नगरपालिकालाई धन्यबाद दिए।
झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षतामा प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव कुशल खतिवडाको रहेको कार्यक्रममा झापा नेत्रहिन संघका सल्लाहाकार तथा बिर्तामोड नगरपालिकाका पूर्व जनप्रतिनिधि प्रेम प्रकाश सिटौला, नेत्रहिन संघका सल्लाहकार तथा पूर्व अध्यक्ष दोणार्चाय निरौला, कम्प्यूटर प्रशिक्षक मूना भट्टराई लगायतले कम्प्यूटर तालिम उद्घाटनको शुभकामना र यस कार्यमा आर्थिक सहयोग गर्ने मेचीनगर नगरपालिकालाई धन्यबाद प्रदान गरे।
प्रमुख अतिथि खतिवडाले ब्यानर बाचन गरेर उद्घाटन गरिएको कार्यक्रममा खतिवडाले कम्प्यूटर प्रशिक्षणको लागि दुई महिनाको समयावधि कम भएको र थप कोर्श गर्न अरु समय थप्न सके अझ उत्तम हुने धारणा व्यक्त गरे। यसको लागि सबैले पहल गर्दा सम्भव हुने उनले बताए।
संघका उपाध्यक्ष उत्तम खतिवडाले स्वागत जनाएको कार्यकमको संचालन सचिव दिल राजबंशीले गरेका हुन् ।
Comments
Post a Comment