बुद्धशान्तिका बिर्धाथी कुट्ने शिक्षकले मागे माफी,उपचार गरिदिने
१० असार,झापा
सोमबार बिहान इलाका प्रहरी कार्यालय बुधबारेमा भएको सर्वपक्षीय छलफलमा भण्डारीले माफी माग्दै घाइते विद्यार्थीहरुको उपचार गरिदिने सहमति जनाएको प्रहरी नायव निरीक्षक भीम मगरले जनाए । कुटाइ खाने विद्यार्थी भने बुधबारे सिटी हस्पिटलमा उपचार गराईरहेका छन्।
शिक्षक भण्डारीलाई बुद्ध आदर्श माध्यमिक विद्यालयले कार्वाही गर्ने भएको छ । कार्वाही गर्ने विषयमा छलफल गर्न सोमबार दिउँसो विद्यालयको बैठक बोलाइएको छ । प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले शिक्षक भण्डारीलाई निष्कासन गर्ने विषयमा छलफल गर्ने बताएका हुन् । डिसिप्लिन इन्चार्ज रहेका शिक्षक भण्डारीले कक्षा ७ मा अध्ययनरत १५ जना विद्यार्थीलाई निर्घात पिटेका हुन् ।
विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले भण्डारीलाई डिसिप्लिन इन्चार्ज (डिआइ) राखेको हो । भण्डारीले रबरको पाइप छियाछिया हुने गरी विद्यार्थीको शरीरमा प्रहार गरेको बताइएको छ ।
कुटाइ खाने विद्यार्थीकी आमा लीला विश्वकर्माले विद्यार्थीमाथि प्रहार गर्ने भण्डारीलाई सख्त कारबाहीको माग गरेकी छिन्।
उनले भनिन्, ‘हाम्रा बच्चाले बदमासी गरेको भए हामीलाई किन थाहा दिइएन? हाम्रा बच्चा यसरी कुट्ने अधिकार कस्ले दियो?
आइतबार दिउँसो कुटाइ खाएपछि केही विद्यार्थी घरमा गएर अचानक सुतेको देखेर अभिभावकले सोधीखोजी गरेका थिए। केही विद्यार्थीलाई अचानक ज्वरो आएपछि अभिभावक आत्तिएका थिए।
विद्यार्थीले कुटाइ खाएको कुरा अभिभावकलाई बताएपछि अभिभावकहरू आइतबार राति नै इलाका प्रहरी कार्यालय बुधबारेमा भेला भएर विद्यार्थी कुट्ने भण्डारीमाथि कानूनी कारबाहीका लागि दबाब दिएका थिए।
कक्षामा हल्ला गरेको कारण देखाउँदै आवेशमा आएर भण्डारीले विद्यार्थीमाथि प्रहार गरेको अभिभावकहरूले बताएका छन्। करिव १५ जना विद्यार्थीहरुले पिटाई खाएको बताइएपनि दुईजनाका तर्फबाट मात्र उजुरी भने परेको प्रहरी नायव निरीक्षक मगरले बताए।
Comments
Post a Comment