बिर्तामोडमा मनाईयो आदिबासी जनजाति दिवश (फोटो फिचर)
२५ साउन,झापा
बिर्तामोडमा शुक्रबार विश्व आदिवासी जनजाति दिवस मनाइएको छ। सो क्रममा आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले बिर्तामोडको मुक्तिचोकमा भेला हुनका साथै सॉझ दिप प्रज्वलन समेत गरेका हुन्।
३० औं आदिवासी दिवसका अवसरमा शुक्रबार झापाको बिर्तामोडमा नेपाल आदिबासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदको संयोजनमा दिप प्रज्वलन गरिएको हो।
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर अध्यक्ष राज कुमार राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा नगर सल्लाहकार रिमान ध्वज लोक्तामले आदिवासी जनजातिको भाषा, सँस्कृति संरक्षणको आवश्यकतामा जोड दिनुभयो ।
आदिवासी जनजाति अगुवाहरुले सोही कार्यक्रममा नेपालका शासकहरु नसच्चिए बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बेगमको जस्तो हालत हुने चेतावनी समेत दिएका छन् । उनीहरुले गैर आदिवासीहरुकै कारण नेपाल भ्रष्ट र गरिव राष्ट्र बनेको दावी गर्दै देश जोगाउन अब आदिवासी जनजातिहरुलाई सत्ता सुम्पिनु पर्नेमा जोड दिए । ‘जबसम्म आदिवासी जनजातिहरुको हातमा शासन सत्ता जाँदैन, तबसम्म देशमा भ्रष्टाचार र अस्थिरता बढिरहन्छ’उनीहरुको भनाई छ । कांग्रेस र एमालेकोे गठबन्धन सरकारले संविधान संशोधन गर्न लागेको अबस्थामा संशोधनका नाममा आदिवासी जनजातिका अधिकारहरु चलाए राम्रो नहुने उनीहरुले चेतावनी दिएका हुन् ।
कार्यक्रममा रिमानध्जव लोक्ताम , वीरेन मेचे ,हिमालप्रकाश कन्दङ्वा , पदम तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए । नगर समन्वय परिषदका उपाध्यक्ष जीवन श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन सहसचिव लीलाबहादुर गुरुङले गरेका हुन् । दीप प्रज्ज्वलन कार्यक्रममा नगरका सन्थाल, मगर, तामाङ्ग, गनगाई, लिम्बु, थारू, मेचे, गुरुङ्ग, शेर्पा आदिवासी जनजाति समुदायका जातिहरुको सहभागिता रहेको हो । बिर्तामोडमा आदिवासी जनजाति समुदायअन्तर्गत १८ वटा जातिहरु रहेका छन् ।
संयुक्त राष्ट्रसंघले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको हो । त्यसयता आदिवासीहरुले वर्षेनि यो दिवस मनाउँदै यसै दिन मनाउँदै आएका छन् ।
Comments
Post a Comment