बिराटपोखरी विकासका सुझावसहित चिया संवाद समाप्त
२ भदौ,झापा
श्री बिराटपोखरी सरोबर बहुउद्देश्यीय विकास समितिले आयोजना गरेको ‘बिराटपोखरी दिगो विकासका लागि चिया संवाद कार्यक्रम–२०८२’ भाद्र १ गते सफलतापूर्वक सम्पन्न भएको छ। श्रावण २६ देखि निरन्तर सञ्चालन भएको सो कार्यक्रम प्रत्येक दिन बिहान ७ देखि ८ बजेसम्म भएको थियो।
समितिका अध्यक्ष इन्द्र प्रसाद प्रसाईको अध्यक्षतामा भएको संवादमा सरोबर संरक्षण र दिगो विकासका विषयमा सरोकारवालाहरुले बहुमूल्य राय–सुझाव दिएका थिए। अध्यक्ष प्रसाईका अनुसार कार्यक्रममार्फत संकलित सुझावहरुमध्ये उल्लेखनीय प्रस्तावमा —
पोखरी भित्र आकर्षक प्राकृतिक बगैंचा पार्क निर्माण,
रुखमा सौन्दर्यपूर्ण बत्ती बाल्ने व्यवस्था,
जंगली रुख रोप्न निषेध,
नयाँ गुरुयोजना निर्माण,
पोखरीको ऐतिहासिकता झल्कने बोर्ड र प्रतिमा स्थापना,
सीसी क्यामेरा जडान,
स्थायी आम्दानीका योजना,
बाल खेलमैदान निर्माण,
फोटो पत्रकारिता तालिमसहित फोटो खिच्ने स्थलको विकास,
पोखरी सरसफाई र संरचनाको सुरक्षा,
डिजिटल बोर्ड सूचनात्मक जडान,
काली मन्दिर व्यवस्थापन,
पोखरीभित्रका पसललाई बाहिर सार्ने,
डुंगा सञ्चालन लगायतका सुझाव समेटिएका छन्।
कार्यक्रमको क्रममा समितिका सचिव जगनाथ भट्टराईले हाल प्रदेश सरकारको बजेटमा निर्माणाधीन सार्वजनिक शौचालयसहितको कार्यालय भवन र सुरक्षा गार्डको भवन समयमै सम्पन्न नभएकोप्रति चिन्ता व्यक्त गरे। उनले ठेकेदारमार्फत निर्माण कार्यलाई तत्काल अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाईको ध्यानाकर्षण गराए।
समापन दिन नगरप्रमुख प्रसाई स्वयं उपस्थित रहनु भएको कार्यक्रममा सचिव जगनाथ भट्टराई र सह–सचिव अर्जुन उप्रेतीले कार्यक्रम सञ्चालन गरेका थिए। अध्यक्ष प्रसाईले प्राप्त सुझावहरुलाई प्राथमिकता दिएर क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन्।
Comments
Post a Comment