शिक्षा विधेयक विरुद्ध प्याब्सनद्वारा झापाका सबै पालिकामा ज्ञापनपत्र
प्याब्सनको केन्द्रीय निर्णय अनुसार झापाका सात नगरपालिका र सात गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाइएको प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले जानकारी दिए । कचनकवल गाउँपालिकामा भने प्याब्सनको सदस्य विद्यालय नरहेको बताइएको छ । हाल झापामा ३१८ निजी विद्यालय प्याब्सनमा आवद्ध छन् ।
ज्ञापनपत्र बुझाउने क्रममा प्याब्सन झापाका पदाधिकारीसँगै एन–प्याब्सन, हिसान लगायतका संस्थासमेत सहभागी थिए । चार सयभन्दा बढी सदस्य विद्यालयका संस्थापक, प्रिन्सिपल, सञ्चालक र शिक्षक–कर्मचारीको उपस्थितिमा विधेयकमा समावेश गरिएका चार मुख्य बुँदा सच्याउन माग गर्दै त्रापनपत्र बुझाइएको थियो ।
प्याब्सनले सरकार ल्याउन लागेको विधेयकमा उल्लेख भएको निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने भन्ने वाक्यांश हटाउन माग गरेको छ । त्यस्तै पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाई हाल प्रचलनमा रहेको १० प्रतिशत छात्रवृत्ति प्रावधानलाई निरन्तरता दिनुपर्ने, छात्रवृत्तिअन्तर्गत भर्ना शुल्क र मासिक शुल्क कायम राखिनुपर्ने माग राखिएको छ ।
प्याब्सनका अनुसार पछिल्ला तीन दशकमा निजी क्षेत्रबाट करिब ६ खर्ब रुपैयाँ लगानी भइसकेको छ, जसले करिब चार लाख रोजगारी सिर्जना गरेको छ । साथै ३४ प्रतिशत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र सरकारले छुट्याएको कुल शिक्षा बजेटको झन्डै ३५ प्रतिशत बराबरको योगदान दिन निजी क्षेत्र सक्षम रहेको दाबी गरिएको छ ।
केन्द्रीय निर्णयअनुसार झापाका सबै स्थानीय तहलाई ज्ञापनपत्र बुझाइएको प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए । उनले मेचीनगरदेखि झापा गाउँपालिकासम्म सबै पालिकाका प्रमुख, उपप्रमुख र शिक्षा अधिकारीलाई भेटी मागसहित ज्ञापनपत्र बुझाइएको बताए ।
Comments
Post a Comment