बिर्तामोडमा सोनाम ल्होसार भव्य रूपमा सम्पन्न,नमो बौद्ध गुम्बाको थप विकास गरिने
माघ,५ झापा
नेपाल तामाङ्ग धेदुङ्ग नगर कार्य समिति बिर्तामोडको आयोजनामा मञ्जुश्री सम्बत २८६२ ताल्हो (घोडा वर्ष) राष्ट्रिय महान पर्व सोनाम ल्होसार बिर्तामोड–४ स्थित नमो बौद्ध गुम्बा परिसरमा विविध सांस्कृतिक कार्यक्रम र शुभकामना आदान–प्रदानसहित भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर समितिका अध्यक्ष विजय गोले तामाङ्गको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उद्घाटन समारोहमा नगर प्रमुख प्रसाईले पानसमा दीप प्रज्वलन गर्नुभएको थियो भने गुम्बाका प्रमुख पुजारी रामसिंह घिसिङ्गद्वारा विधिवत पूजापाठ र १०८ दीप प्रज्वलन गरिएको थियो।
आयोजक समितिका महासचिव गणेश तामाङ्गले आर्थिक वर्ष २०८२/८३ मा गुम्बाका लागि कोशी प्रदेश सरकारबाट प्राप्त १३ लाख र बिर्तामोड नगरपालिकाबाट प्राप्त ३ लाख गरी जम्मा करिव १६ लाख रुपैयाँको योजना ल्होसार लगत्तै कार्यान्वयनमा जाने जानकारी दिनुभयो। साथै गुम्बाका लागि थप जग्गा आगामी चार महिनाभित्र खरिद गरिने र हालसम्म ११ लाख ८ हजार रुपैयाँ संकलन भइसकेको पनि उहाँले बताउनुभयो।
शुभकामना मन्तव्यका क्रममा नेपाल तामाङ्ग धेदुङ्गका वरिष्ठ सल्लाहकार प्रेमराज घिसिङ्गले ल्होसार पर्वको ऐतिहासिक र सांस्कृतिक महत्वबारे प्रकाश पार्नुभयो। मलेसिया स्थित एनआरएनएका अध्यक्ष तथा आरएफटिसीका संस्थापक उपाध्यक्ष, बिर्तामोड–१ निवासी राजु योञ्जन तामाङ्गले गुम्बा विकासका लागि थप ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो। यस्तै मेची आँखा अस्पताल बिर्तामोड–३ का अध्यक्ष जलकुमार गुरुङ्गले गुम्बा निर्माणमा विगतमा गरेको सहयोग स्मरण गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सांस्कृतिक कार्यक्रममा कलाकार तथा शिक्षक मनबहादुर तामाङ्गले कमेडी नृत्य प्रस्तुत गर्नुभयो भने कलाकार खुशी तामाङ्ग,किरण घिसिङ्गलगायतले तामाङ्ग तथा अन्य गीतमा आकर्षक नृत्य प्रस्तुत गरे। नेपाल आइडल सिजन–४ का फस्ट रनरअप नाम्ग्याल तामाङ्ग कार्यक्रमको मुख्य आकर्षण बने। उहाँले स्वर्गीय प्रशान्त तामाङ्गको सम्झनामा ‘असारै महिनामा पानी प¥यो’ लगायत गीत प्रस्तुत गर्दा दर्शक भावुक बनेका थिए।
कार्यक्रममा नगर प्रमुख प्रसाईले गुम्बाको बाटो,कम्पाउण्ड तथा समग्र संरचना निर्माणमा नगरपालिकाको गहिरो चासो रहेको बताउँदै सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। अध्यक्ष विजय गोले तामाङ्गले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोडका उपाध्यक्ष तारा चाम्लिङ्ग तामाङ्गको स्वागत मन्तव्य रहेको कार्यक्रममा बितामोड -६ का वडा अध्यक्ष सुर्य कन्दङ्गवा,५ का वडा अध्यक्ष रोहित प्रसाई, बिर्तामोड खानेपानी अध्यक्ष मेघराज बाँस्तोला राजनीतिक,सामाजिक तथा आदिवासी जनजाति संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा तामाङ्ग जातिको प्रचलित डम्फु गीत प्रश्तुत गरिएको थियो भने प्रसाद र ठुई बितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन समितिका कोषाध्यक्ष समिक्षा तामाङ्ग र सदस्य टिका राज घिसिङ्गले गर्नुभएको थियो।

Comments
Post a Comment