नारी सञ्चार गृह झापाले गर्यो नववर्ष कार्यक्रम तथा क्यालेण्डर विमोचन
२९ चैत्र,झापा
प्रमुख अतिथि भण्डारीले दिप प्रज्वलन गरी औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने राष्ट्रिय गानसँगै कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले थप रौनकता प्रदान गरेका थिए । कलाकार जेनी प्रसाई र समता खरेलले आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए भने ‘इष्ट सिङ्गिङ कम्पिटिसन’का विजेता यमूना क्षेत्रीले आफ्नो सुमधुर स्वरमार्फत उत्कृष्ट गायन प्रस्तुत गर्दै उपस्थितलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । त्यसैगरी नारी सञ्चार गृहकी सदस्य रञ्जिता खड्काले मार्मिक तथा प्रभावशाली गजल प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी कलाकारहरुलाई मायाको चिनो समेत हस्तान्तरण गरिएको थियो।
कार्यक्रमकै अवसरमा नववर्ष २०८३ को क्यालेण्डर प्रायोजन गरी नारी सञ्चार गृहलाई महत्वपूर्ण सहयोग पुर्याउनुहुने ब्रिज इन्टरनेशनलका प्रोपाइटर अशोक भण्डारीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । उक्त कदरपत्र अध्यक्ष आचार्य, प्रमुख अतिथि भण्डारी लगायतका विशिष्ट अतिथिहरूले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो । साथै अतिथिहरूको बाहुलीबाट क्यालेण्डर विमोचन गरिएको थियो र कार्यक्रममा सहभागीहरूलाई क्यालेण्डर वितरण समेत गरिएको थियो ।
कार्यक्रममा ब्रिज इन्टरनेशनलका अशोक भण्डारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापा अध्यक्ष अर्जुन राजबंशी, पत्रकार पुष्प खड्का, प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियार, नेपाल उद्यमशील महिला संघ अध्यक्ष पार्बता खरेल, एबिसि नेपालको कञ्चना ढकाल सिटौला, महिल मूक्तिकी राधा सुब्बा, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरि लगायतका वक्ताहरूले नववर्षको शुभकामना व्यक्त गर्दै समसामयिक पत्रकारिता, महिला सशक्तीकरण तथा सञ्चार क्षेत्रका विविध पक्षहरूमा आ-आफ्ना धारणा राख्नुभएको थियो ।
प्रमुख अतिथि अम्बिका भण्डारीले आफ्नो मन्तव्यका क्रममा नारी सञ्चार गृहले महिला पत्रकारहरूलाई नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा अवसर सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्ता संस्थाहरूले महिला सशक्तीकरणमा थप सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अध्यक्ष स्वस्तिका आचार्यले महिला पत्रकारहरूलाई अवसरबाट वञ्चित नगर्न सबै पक्षसँग आग्रह गर्दै संस्थालाई सहयोग गर्ने ब्रिज इन्टरनेशनलप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि तथा उपस्थितप्रति आभार प्रकट गर्नुभयो ।
नारी सञ्चार गृह झापा उपाध्यक्ष ज्योत्सना श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन गृहकी सचिव दिपा सापकोटाले प्रभावकारी रूपमा गर्नुभएको थियो ।


Comments
Post a Comment