नव वर्षको अवसर पारेर बिराटपोखरीमा डुङ्गा संचालन
२ बैशाख,झापा
नयाँ वर्षको शुभ अवसर पारेर आज ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको बिर्तामोड–३ स्थित बिराटपोखरीमा डुंगा सञ्चालनको विशेष कार्यक्रमका बीच भव्य रूपमा औपचारिक उद्घाटन गरिएको छ। बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा हालका लागि पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले बिराटपोखरीमा डुंगा सयर सेवा सञ्चालनमा ल्याइएको हो। यसअन्तर्गत श्री बिराटपोखरी बहुउद्देश्यीय विकास समितिले प्रारम्भिक चरणमा तीन वटा डुंगा सञ्चालनमा ल्याएको जनाएको छ।
यससँगै पोखरी परिसरको दक्षिण भेगमा छिट्टै बाल उद्यान सञ्चालनको तयारीसमेत तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिइएको छ। प्रस्तावित बाल उद्यानमा बालबालिकाहरूले विभिन्न खेलमार्फत मनोरञ्जन लिन सक्ने व्यवस्था गरिनेछ, जसका लागि प्रति व्यक्ति रु. २० शुल्क निर्धारण गर्ने योजना रहेको छ।
श्री बिराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्र प्रसाद प्रसाईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईको गरिमामय उपस्थिति रहेको थियो। प्रमुख अतिथि प्रसाईले रिबन काटेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। उद्घाटन पश्चात उहाँसहित उपस्थित अतिथिहरूले डुंगा सयर गरी सेवा सञ्चालनको प्रत्यक्ष अनुभवसमेत लिनुभएको थियो।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष इन्द्र प्रसाईले डुंगाको दररेट आधा घण्टाका लागि प्रति व्यक्ति रु. ५० कायम गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक न्यूनतम ६० जना पर्यटकलाई डुंगा सयर गराउने लक्ष्य राखिएको छ। सो कार्यलाई व्यवस्थित बनाउन १ जना टिकट विक्रेता र १ जना सेफ्टी पर्सन समेत नियुक्त गरिएको छ। डुंगा सयरबाट संकलित रकम ‘बिराटपोखरी डुंगा सञ्चालन कोष’मा जम्मा गरिने उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि मेयर प्रसाईले यस्तो सिर्जनात्मक पहलले बिराटपोखरीको समग्र विकासमा टेवा पुग्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी बिर्तामोड नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मदन बुढाथोकी र वडा नं. ७ का वडा अध्यक्ष अबिरल कृष्ण खरेलले पनि कार्यक्रमको प्रशंसा गर्दै आफ्ना धारणा राख्नुभएको थियो।
कार्यक्रममा स्थानीय बासिन्दाहरूले समेत उत्साहजनक सहभागिता जनाउँदै आ–आफ्ना विचार प्रस्तुत गरेका थिए। सोही अवसरमा सरोवरका सहसचिव अर्जुन उप्रेती र बिष्णु भगवती स्मार्ट २ स्कूलका संचालक पूण्य प्रसाद उपतीले पनि आफ्नो धारणा राख्नुभएको थियो।
उक्त कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, स्थानीय बुद्धिजीवी तथा उल्लेख्य संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो। वैदिक विधि–विधानअनुसार पूजापाठ गरी सम्पन्न गरिएको उक्त कार्यक्रमको सञ्चालन सरोवरका सचिव जगन्नाथ भट्टराईले गर्नुभएको थियो।
कार्यक्रमको अवसरमा स्थानीयवासी तथा पर्यटकहरूको अनुहारमा देखिएको उत्साह र खुसीले डुंगा सञ्चालनले यहाँको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थपिएको स्पष्ट रूपमा महसुस गर्न सकिन्थ्यो।

Comments
Post a Comment