कोशी प्रदेशस्तरीय खुल्ला गायनमा शम्भूको जित


 अ
सार १७,बिर्तामोड 

 झापा नेत्रहिन संघ तथा नेत्रहिन संघ कोशी प्रदेशको आयोजनामा सम्पन्न दृष्टिबिहिन व्यक्तिहरूकालागि कोशी प्रदेशस्तरीय खुल्ला गायन प्रतियोगिता भव्य तथा प्रेरणादायी वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा झापाका शम्भू राजबंशी प्रथम हुँदै नगद रु. १०,००० सहित सम्मानित भएका छन्।

प्रतियोगितामा झापाकै समीर अधिकारी द्वितीय हुँदै नगद रु. ५,००० प्राप्त गर्न सफल भए। त्यसैगरी,धनकुटाकी सुजिता राई तृतीय स्थान हासिल गर्दै नगद रु. ३,००० प्राप्त गर्न सफल भइन् भने झापाकी पवित्रा तामाङ्ग चौथो (सान्त्वना) स्थान हासिल गर्दै नगद रु. २,००० प्राप्त गर्न सफल भइन्।

विजेता तथा पुरस्कृत प्रतिभाहरूलाई कार्यक्रमका अध्यक्ष होमनाथ राजबंशी लगायत प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो।

विश्वप्रसिद्ध प्रेरणादायी व्यक्तित्व हेलेन केलरको १४६औँ जन्मजयन्ती तथा झापा नेत्रहिन संघको २९औँ स्थापना दिवसको अवसर पारेर बिर्तामोड–३ स्थित झापा नेत्रहिन संघको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले दृष्टिबिहिन व्यक्तिहरूको प्रतिभा उजागर गर्नुका साथै उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यलाई सफलतापूर्वक सार्थक बनाएको आयोजकले जनाएको छ।

प्रतियोगिताको निर्णायकको भूमिकामा बिहानी कला केन्द्र उर्लाबारीका संस्थापक तथा प्रशिक्षक यशोदा शाक्य र शोही कला केन्द्र, दमक शाखाका सञ्चालक एवं प्रशिक्षक हेमन्त रिजाल रहनुभएको थियो। उहाँहरूले प्रतियोगिताको निर्णय सार्वजनिक गर्दै मूल्याङ्कनका आधार र निर्णय प्रक्रियाबारे आफ्नो धारणा पनि साझा गर्नुभएको थियो।

झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष राजबंशीले यस्ता कार्यक्रमहरूले दृष्टिबिहिन तथा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्फुटन गर्न, आत्मबल वृद्धि गर्न तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा कोशी प्रदेशका झापा, सुनसरी,धनकुटा लगायत विभिन्न जिल्लाबाट १२ जना प्रतियोगीको सहभागिता रहेको आयोजकले जानकारी दिएको थियो।

कार्यक्रम लाइभ म्युजिकका साथ सम्पन्न भएको थियो। प्रतियोगीहरूको प्रस्तुतिलाई अझ आकर्षक बनाउन गिटारमा चन्द्र भट्टराई,की-बोर्डमा किशोरा अर्याल तथा अक्टोप्याडमा डिल्लीराम दुलालले सांगीतिक साथ दिनुभएको थियो।

स्मरणीय पक्षका रूपमा सोही अवसरमा झापा नेत्रहिन संघद्वारा सञ्चालित तीनमहिने सङ्गीत तालिमको समापन समेत गरिएको थियो। उक्त तालिमबाट झापाका दृष्टिबिहिन ३ जना महिला र ७ जना पुरुष प्रत्यक्ष रूपमा लाभान्वित भएको संघका सचिव दिलकुमार राजबंशीले जानकारी दिनुभयो।

कार्यक्रममा झापा नेत्रहिन संघका सल्लाहकार संयोजक दोर्णाचार्य निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै यस्ता सिर्जनात्मक कार्यक्रमले दृष्टिबिहिन व्यक्तिहरूको क्षमता अभिवृद्धि र सामाजिक सहभागिता विस्तारमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।

राष्ट्रिय गान तथा सहिदहरूप्रति एक मिनेट मौनधारण गरी शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेशसभा सदस्य एकराज कार्कीको उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा नेपाल आदिवासी जनजाति नेत्रहिन संघका अध्यक्ष भोजकुमार तामाङ,मेची प्रादेशिक अस्पतालका सञ्चालक सदस्य शिवकुमार राजभण्डारी,झापा नेत्रहिन संघका सल्लाहकार प्रेमप्रकाश सिटौला,मदन आचार्य, कञ्चनजङ्घा अंग्रेजी स्कुलका सञ्चालक डा.केशवराज न्यौपाने, समाजसेवी डिल्लीकुमारी न्यौपाने लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

झापाका दृष्टिबिहिन कलाकारहरूले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रमको स्वागत मन्तव्य संघका उपाध्यक्ष उत्तम खतिवडाले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संघका सचिव दिलकुमार राजबंशीले गर्नुभएको थियो। समग्रमा कार्यक्रम दृष्टिबिहिन व्यक्तिहरूको कला,क्षमता र आत्मविश्वासलाई उजागर गर्ने प्रेरणादायी तथा सफल आयोजनाका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया