बिर्तामोडमा श्रावण २४ गते ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइने
२२ श्रावण,बिर्तामोड,
दिवसलाई सफल र भव्य रूपमा सम्पन्न गर्न गरिएको तयारीबारे जानकारी गराउने उद्देश्यले आज बिर्तामोड–५ स्थित किरात भवनमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले नगरभित्र रहेका १७ आदिवासी जनजातिका झाँकी, सांस्कृतिक प्रस्तुति तथा परम्परागत जनजातीय नृत्यसहित बिहान बिर्तामोडस्थित हनुमान सेन्टर अगाडि भेला भई बिर्तामोड नगर परिक्रमा गरिने जानकारी दिनुभयो। नगर परिक्रमा पश्चात् सिटी सेन्टरमा पुगेर औपचारिक सभाको आयोजना गरिने र कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको विशेष उपस्थिति रहने उहाँले बताउनुभयो।
पत्रकार सम्मेलनमा नेफिन झापाका पूर्व अध्यक्ष प्रेमराज घिसिङले विश्व आदिवासी दिवसको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पार्दै दिवसले आदिवासी जनजातिहरूको पहिचान, अस्तित्व, भाषा, संस्कृति तथा अधिकार संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो।
महासंघका कोषाध्यक्ष सिके बेघाले कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै विभिन्न जनजातीय समुदायको सक्रिय सहभागितासहित कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गरिने स्पष्ट पार्नुभयो।
राजबंशी समाज विकास समिति बिर्तामोड नगर अध्यक्ष सिरतलाल राजबंशीले सम्पूर्ण राजबंशी समुदायसहित सबै आदिवासी जनजातिहरूले उत्साहपूर्ण सहभागिता जनाई दिवसलाई ऐतिहासिक बनाउन आग्रह गर्नुभयो।
बिर्तामोड–५ का पूर्व वडा अध्यक्ष राजेन्द्र लिङ्गदेनले विश्व आदिवासी दिवसलाई सफल बनाउन सबै पक्षको साथ, सहयोग र ऐक्यबद्धता आवश्यक रहेको औँल्याउनुभयो।
त्यसैगरी कियाचु बिर्तामोड नगर अध्यक्ष हिमालय प्रसाद कन्दङ्गवाले आदिवासी जनजातिहरूको हक, अधिकार, पहिचान र सम्मानका लागि सबै एकजुट भएर सशक्त रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
नेवा देय दबु बिर्तामोड नगरका कार्यवाहक अध्यक्ष जंगबहादुर श्रेष्ठले कार्यक्रममा विभिन्न जातीय भेषभूषासहित आकर्षक लाखे नाचको विशेष प्रस्तुति रहने जानकारी दिनुभयो।
महासंघका उपाध्यक्ष रतन राजबंशीले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण आदिवासी जनजाति समुदाय तथा सरोकारवाला सबैमा सहभागिताका लागि हार्दिक अपिल गर्नुभयो।
अर्का उपाध्यक्ष सुबास मोक्तानले समेत कार्यक्रमको उद्देश्य, तयारी तथा सहभागिताका विषयमा स्पष्ट पार्नुभएको थियो।
पत्रकार सम्मेलनमा पत्रकारहरू इन्द्रजीत मुखिया, इन्द्रसिंह राजबंशी, सन्तोष बेघा, सर्जु संसार लगायत कियाचु बिर्तामोड नगर सचिव भिममाया नेम्बाङको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले विश्व आदिवासी दिवसले सम्पूर्ण आदिवासी जनजातिहरूलाई एकताबद्ध बनाउँदै आफ्नो जातीय पहिचान, भाषा, संस्कृति तथा हक–अधिकार स्थापित गर्ने अवसर प्रदान गर्ने तथा समानता, समावेशिता र सामाजिक न्यायको दिशामा थप सशक्त रूपमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए।
पत्रकार सम्मेलनको सञ्चालन महासंघका सचिव लिला बहादुर गुरुङले गर्नुभएको थियो।

Comments
Post a Comment