बाढीपीडितका लागि श्रम संस्कृति पार्टी झापाले करिब ६ लाख सहयोग जुटाउँदै


२० भदौ, झापा 

श्रम संस्कृति पार्टी झापा जिल्ला कमिटीले बाढीपीडित परिवारका लागि करिब ६ लाख रुपैयाँ बराबरको सहयोग जुटाउने अभियानलाई तीव्रता दिएको छ। विपत्तिमा परेका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले पार्टीले सञ्चालन गरेको सहयोग संकलन अभियानअन्तर्गत हालसम्म रु. ४ लाख ६५ हजार १ सय ७० रुपैयाँ नगद तथा केही जिन्सी सामग्री संकलन भइसकेको जनाईएको छ।

श्रम संस्कृति पार्टीको झापा जिल्ला कार्यालयमा आज आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष केशव मण्डारीले बाढीपीडितका लागि सहयोग संकलन भइरहेको जानकारी दिनुभएको हो। उहाँले विपत्तिको समयमा पीडित परिवारको दुःखमा साथ दिन पार्टीको तर्फबाट सहयोग अभियान सञ्चालन गरिएको बताउँदै सहयोग जुट्ने क्रम अझै जारी रहेको जानकारी दिनुभयो।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हिमालय प्रकाश कन्दङ्वाले बाढीपीडितका लागि करिब १० लाख रुपैयाँ सहयोग जुटाउने लक्ष्य राखिएको बताउनुभयो। उहाँले प्राकृतिक विपत्तिका कारण दुःखमा परेका परिवारलाई अहिले सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै सक्दो सहयोग गर्न सबैमा आह्वान गर्नुभयो।

आजै,श्रम संस्कृति पार्टी मेची नगर कमिटीले बाढीपीडित सहयोग अभियानअन्तर्गत जिल्ला कमिटीलाई रु. २ लाख १७ हजार ३ सय ७५ रुपैयाँ हस्तान्तरण गरेको छ। मेची नगर कमिटीले पहिलो चरणमा रु. १ लाख ३७ हजार २ सय ७५ रुपैयाँ र आज थप रु. ८० हजार ४ सय ९५ रुपैयाँ गरी उक्त रकम हस्तान्तरण गरेको हो। रकम मेची नगर कमिटीका अध्यक्ष पदम सुनुवारले जिल्ला कमिटीलाई हस्तान्तरण गर्नुभएको थियो।

झापा जिल्ला  सचिव शिवम सोराली मगरले नगर कमिटीबाट संकलित रकम तथा राहत सामग्री केन्द्रीय कार्यालयको निर्देशनबमोजिम केही दिनपछि सम्बन्धित ठाउँमा हस्तान्तरण गरिने जानकारी दिनुभयो। उहाँले विपत्तिमा परेका परिवारसम्म राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले संकलन गरिएका सामग्री र रकम उचित स्थानमा हस्तान्तरण गरिने बताउनुभयो।

पार्टीका झापा जिल्ला अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा पार्टीका उपाध्यक्ष सम्पूर्णी लिम्बु,बालकुमार भुजेल, सहर्सचिव अन्जु खेवा,कोषाध्यक्ष दिपेन राई,सह–कोषाध्यक्ष सपना राई, सचिवालय सदस्य वली अधिकारी,करण खपाङ्गी मगर,केडी राई लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित विभिन्न पदाधिकारी तथा सदस्यहरूले प्राकृतिक विपत्तिका कारण पीडामा रहेका परिवारलाई यस्तो कठिन समयमा सहयोग गर्नु सामाजिक दायित्वसमेत भएको उल्लेख गर्दै राहत तथा सहयोग अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

गत भदौ १० गते रसुवामा आएको बाढीपहिरोमा परी ठूलो जनधनको क्षति भएको थियो। उक्त प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडामा साथ दिने उद्देश्यले विभिन्न संघसंस्था तथा राजनीतिक दलहरूले राहत तथा सहयोग अभियान सञ्चालन गरिरहेका छन्। सोही क्रममा श्रम संस्कृति पार्टीले पनि बाढीपीडितका लागि सहयोग संकलन अभियानलाई अघि बढाएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन