पत्रकार उपचार कोषलाई ढुंगानाको तीन लाख एकाउन्न हजार सहयोग
बिर्तामोड, माघ २३/
झापा बिर्तामोड ५ का शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोष झायालाई तीन लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ढुंगाना दम्पत्तिले मंगलबार उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरेका हुन्।
कोषमा सहयोग गर्ने दाताहरुमध्ये व्यक्तिगततर्फ ढुंगानाको सहयोग अंक हाल सम्मकै बढी हो ।
ढुंगानाले पत्रकारको सामाजिक सुरक्षा र दिगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा आफ्नो तर्फबाट खुशी व्यक्त गरेका छन्। नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा कोषको ब्याजबाट उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रावधान रहेको हो ।
झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै ढुंगानाले प्रशंसा गरेका छन् भने ढुंगाना कनकाई एजुकेशन फाउण्डेशन र श्रीजय ड्रिमल्याण्ड पार्कका संस्थापक हुनुहुन्छ ।
उहाँले शैक्षिक, सामाजिक, मानवीय र धार्मिक क्षेत्रमा विगत देखि नै योगदान गर्दै आउनुभएको छ।
महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा ढुंगाना दम्पत्तिलाई खादा पहिर्याएर धन्यवाद ज्ञापन गर्नुभएको हो।
कार्यक्रमको सहजीकरण महासंघका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए भने महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषको रकम लक्ष्य अनुसार दाताहरुकै सहयोगबाट एक करोड रुपैयाँ पुग्न लागेको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा एक करोड रुपैयाँ पुग्न लागेकाले आवश्यक रकम जम्मा भएपछि महासंघले सोको घोषणा तथा दाताहरुलाई सम्मान गर्ने जनाएको छ।
Comments
Post a Comment