बिर्तामोडका दुईजना सर्बियामा बन्धक,फिरौती माग
१५ असार,झापा
झापा बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशी मध्य-दक्षिण-पूर्वी युरोपमा पर्ने सर्बियाको जंगलमा बन्धक बनाइएको उनीहरुका आफन्त तथा बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य शर्मिला राजवंशीले बताइन् ।
उनीहरु मेचीनगर इटाभट्टाकी सपना राजवंशीमार्फत काठमाडौँका विज्ञान खरेलको सम्पर्कमा पुगेको र खरेललेनै उनीहरुलाई विदेश पठाएको पारिवारिक स्रोतले जनाएको छ । सपनाका पति नरेश राजवंशी रोमानियामा छन् । उनीमार्फत राजवंशीद्वय गएको बताइएको हो ।
बन्धक बनाएको खबरपछि घरका सबै सदस्य चिन्तित बनेको बताउँदै आज बिहान एजेन्ट सपनालाई घरमा बोलाएको कार्यपालिका सदस्य शर्मिलाले जानकारी दिइन् ।
बन्धकमा परेका उनीहरुलाई ज्यान मार्ने धम्की दिएपछि राजवंशी परिवार तनावमा परेका छन् । हिजोदेखि रातिसम्म लगातार टेलिफोन गरेर त्यस्तो धम्की दिएको परिवारले जनाएका हुन् ।
बन्धक बनाएको भनिएका आमाशु शर्मिलाका काका र पशुपति काकाका छोरा हुन् । आमाशु गत चैतको अन्तिम र पशुपति बैशाखको पहिलो साता विदेश गएको जनाईएको छ ।
उनीहरु ६ लाख पचास हजार खर्चिएर इजिप्टका लागि गएका थिए । राजवंशीसहित ११ जनालाई सर्बिया पुर्याइएको थियो । अन्यको बारेमा भने खुलेको छैन ।
फोनबाट आफन्तहरुलाई जनही ३ लाख पठाइदिन अनुरोध गरेको शर्मिलाले बताइन् । उनले भनिन्, ‘पैसा नदिए मार्ने धम्कीसहित बिहानदेखि रातिसम्म लगातार फोन आइरहेको छ, घरि हिन्दी बोल्छन् घरि अरु भाषा ।’ उनले फिरौती रकम बढाउँदै लगेको जानकारी दिइन् ।
११ जनालाई सर्बियाको जंगलमा हातखुट्टा बाँधेर बन्धक बनाइएको खबर आएको शर्मिलाले सुनाइन् । रकम पठाउन एकाउन्ट नम्बर पनि पठाइएको र राजवंशी परिवारले पैसा पठाउन खोज्दा एकाउन्ट नम्बर भने नमिलेको बताइएको छ ।
आफन्त समस्या परेको कुरा शर्मिलाले इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला प्रशासन कार्यालय झापा र सामी परियोजनामा पनि जानकारी गराएको बताइन् ।
इप्रका बिर्तामोडका डिएसपी प्रकाश विष्टले नेपाली बन्धक भएको खबर परिवारमार्फत आएको र बन्धक भएकै भए उद्धारका लागि सम्बद्ध निकायसँग समन्वय गरिएको जनाइएको हो ।
Comments
Post a Comment