झापामा बाढी आउदा साईरन बज्ने उपकरण जडान

 

२५ जेठ,झापा

झापामा यस वर्ष बाढी आउदा बज्ने उपकरण विभिन्न स्थानमा साइरन जडान गरिएको छ । मनसुनजन्य विपदको क्षति न्यूनीकरण गर्न झापाका विभिन्न स्थानमा साइरन जडान गर्ने कार्यलाई तीव्रता दिइएको हो ।

जल तथा मौसम विज्ञान विभागले करिब दुई साताअघि जिल्लाको निन्दा र बिरिङ खोलामा एक एकवटा साइरन जडान गरेको हो । यसअघि नेपाल रेडक्रस सोसाइटीको पहलमा कनकाई नदीको ९ ठाउँमा साइरन जडान गरिएको हो । रेडक्रस झापाका सभापति लोकराज ढकालले बताए ।

त्यस्तै, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि झापामा साइरन जोड्ने भएको हो ।अहिलेसम्म झापाको राजमार्ग क्षेत्रमा मात्र साइरन जडान गरिएकोमा जिल्लाको झापा गाउँपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाको अति जोखिमयुक्त क्षेत्रमा एकएकवटा साइरन जडानको लागि माग गरिएको रेडक्रसका सभापति ढकालले बताए ।

नदी तथा खोलाहरुमा जल सतह सतर्कता तहभन्दा माथि पुगेपछि ती साइरनले आवाज दिँदै स्थानीयबासीहरुलाई सचेत गराउने गर्छन् ।

त्योसँगै कनकाईमा एसएमएस प्रणालीको पनि व्यवस्था गरिएको छ । कनकाईमा रहेको वर्षामापन यन्त्रले जल सतह ३.८ मिटर माथि पुगेपछि एसएमएस पठाउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ ।

निन्दा र बिरिङमा जडान गरिएका साइरनले पूर्णता पाइनसकेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी नेपालले जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरेर पूर्वसूचना प्रवाह गरिने जानकारी दिए ।

जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा ७ पालिका छन् । गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा छन् ।

त्यस्तै, मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिका न्यून जोखिममा छन् ।

यो वर्ष झापा जिल्ला लगायत देशका बिभिन्न भागमा अत्यधिक वर्षा हुने मौसम विभागको प्रक्षेपण अनुसार समितिले जिल्लामा करिब आठ हजार ९१९ घरधुरी बाढीका कारण प्रभावित हुने आँकलन गरिएको हो ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला