शिक्षक आन्दोलन:बिर्तामोड-१० का ८ सय विद्यार्थीको पढाई ठप्प
१२ बैशाख,झापा
शैक्षिक क्यालेन्डरअनुसार विद्यालयहरू बैशाख ४ गतेदेखि सञ्चालन हुने तयारीमा रहेपनि आन्दोलनले तालिका धकेलिएको हो।
महेन्द्रज्योति मावि, सैनिक बजारमा अध्ययनरत ३३६ विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ। विद्यालयका शिक्षकहरू बिरेन्द्र रिजाल, पदम भट्टराई, महेश्वर कार्की, सरस्वती दाहाल र पुष्कर घिमिरे आन्दोलनमा सहभागी हुन काठमाण्डौं गएका शिक्षक पुष्कर घिमिरेले जानकारी दिए।
बिराट आधारभूत विद्यालयमा २२५ विद्यार्थी छन् भने आन्दोलनका कारण सम्पूर्ण शैक्षिक गतिविधि बन्द गरिएको विद्यालयका शिक्षक रङ्गलाल न्यौपानेले जानकारी दिए। सो विद्यालयबाट शिक्षक बाबुराम थापा आन्दोलनको क्रममा काठमाण्डौंमा छन्।
चमरधाप सामुदायिक विद्यालयमा अध्ययनरत ६३ विद्यार्थी पनि शिक्षण अवरोधमा परेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिमान ध्वज लोक्तामका अनुसार विद्यालय खोल्ने तयारी भए पनि शिक्षक आन्दोलनका कारण हाल शैक्षिक गतिविधि ठप्प छ।
लक्ष्मी नारायण आधारभूत विद्यालयका १७० विद्यार्थी पनि पठनपाठनबाट वञ्चित भएका छन्। प्रधानाध्यापक जनक थापा र शिक्षक कोमल अर्याल काठमाण्डौंमा आन्दोलनमा छन्। विर्द्याथीका पाठ्यपुस्तक विद्यालय आइपुगे पनि थन्काउने कार्य मात्र सम्पन्न भएको र अन्य कुनै पनि शैक्षिक गतिविधि भने नभएको शिक्षक रन्जु पाठक सिटौलाले बताइन्।
नेपाल शिक्षक महासंघ नयाँ शिक्षा ऐन जारी गर्न दबाब दिन भन्दै राजधानी केन्द्रित आन्दोलनमा रहेको छ । जसको असर देश भरका सामुदायिक विद्यालय लगायत बिर्तामोड–१० का विद्यालयहरूमा समेत प्रत्यक्ष देखिएको छ।
Comments
Post a Comment