नेत्रहीन संघद्वारा प्राणी कल्याणका लागि ‘छेतार’ कार्यक्रम सम्पन्न
३ जेठ,झापा
टासी छोलिङ्ग बौद्ध गुम्बा परिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षता, प्रमुख अतिथि आचार्य पूर्ण पाख्रिनको प्रमुख आतिथ्यता, र प्राज्ञ सुमित्रा बाङ्गदेल चेलीको विशिष्ट आतिथ्य रहेको थियो। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अग्रज, सामाजिक अभियन्ता तथा धर्मगुरुहरूको समेत उल्लेखनीय सहभागिता रहेको हो।
कार्यक्रमको प्रारम्भ दीप प्रज्वलनबाट गरिएको थियो। विशिष्ट अतिथि प्राज्ञ बाङ्गदेल चेलीले कार्यक्रमको ब्यानर बाचन गर्दै आध्यात्मिक र सामाजिक मूल्यका दृष्टिले यस्ता कार्यक्रमहरूको महत्व झल्काएकी थिइन्।
नेपाली क्रिश्चियन समाजका राष्ट्रिय प्रवक्ता पाष्टर टिकाराम आचार्यले यो कार्यक्रममा सहभागिता जनाउन पाउनु गौरवको विषय भएको बताउँदै भने, "सेवा गर्ने हातहरू नै प्राथना गर्ने ओठहरूभन्दा महान हुन्छन्"। संघले शास्त्रसम्मत कार्य गर्दै आएको देख्दा हर्ष लागेको छ।"
कार्यक्रममा किरात खिजलुङ माङ्हिङ्गका झापा जिल्ला अध्यक्ष भवानी बिक्रम सेलिङ्गले कार्यक्रम स्थलमै भावुक हुँदै यस्तो पुण्य कार्यको उच्च प्रशंसा गरे।समाजसेवी अम्बिका बहादुर तामाङले नेत्रहीन संघद्वारा संचालित यो मानवीय कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।
प्राज्ञ बाङ्देल चेलीले संघका प्रायः सामाजिक र धार्मिक गतिविधिमा आफू सक्रिय रुपमा सहभागी हुने बताउँदै आगामी दिनमा पनि अझ प्रेरणादायी काम गर्न आयोजक टिमलाई शुभकामना दिइन्। प्रमुख अतिथि पाख्रिनले बुद्ध जयन्तीकै अवसरमा कार्यक्रम गर्न चाहेको भए पनि बौद्ध गुरुहरूको व्यस्ततालाई मध्यनजर गर्दै कार्यक्रम केही पछि सारिएको जानकारी गराए।
संघका अध्यक्ष भोज कुमार तामाङले दृष्टि सम्बन्धी अपांगता भएका नागरिकहरू आफैंले सामाजिक दायित्व निर्वाह गर्न सक्ने संकेत दिन यो कार्यक्रम आयोजना गरिएको बताए। “हामी कम्प्लेन होइन, कम्प्लिट भएर बाँचौं, कन्फ्युज होइन, कन्फिडेन्ट भएर बाँचौं,” उनले सन्देश दिए। उनले राज्य प्रतिनिधिहरूलाई पनि निमन्त्रणा गरिएको भए तापनि अनुपस्थित भएकोप्रति दुःख व्यक्त गर्दै, केही हतारमा कार्यक्रम सम्पन्न गर्दा भएको सम्भावित कमी कमजोरीलाई आगामी दिनमा सच्चाएर जाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा माछा दानका लागि आर्थिक सहयोग प्रदान गर्ने सहयोगीहरूमा आनन्द राई, भरत राजबंशी, दिलकुमार राजबंशी, गीता देवी चेम्जोङ, नयन सिंह राई, निर्मला तामाङ, मोहन कार्की, भीमकुमारी राई, भोजकुमार तामाङ र प्रदीप राजबंशीको नाम सम्मानपूर्वक पढेर सुनाइएको थियो।
यस्तै, खाजा नास्ता सहयोगी कबिराज कुमाल, कौशिला देवी गुरुङ तथा पानी सहयोगी विवेक मगरको योगदान र कार्यक्रम सम्पन्न गर्नका लागि सभाहल र साउण्ड सिस्टम निशुल्क रुपमा उपलब्ध गराई संघलाई सहयोग पुर्याएकोमा बौद्ध गुम्बालाई पनि सार्वजनिक रूपमा कदर गरिएको थियो।
संघका तर्फबाट स्वयंसेवक पुकार तिम्सिनाले संस्थाको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए ,संघको सहसचिव कौशिल्या देवी गुरुङ्गले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् भने उपाध्यक्ष युवराज शेर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए। सम्पूर्ण कार्यक्रमको सञ्चालन कोषाध्यक्ष प्रदीप राजबंशीले गरेका हुन्।
Comments
Post a Comment