अध्यक्ष गिरीद्वारा ब्यवसायी राहत कोषमा ५१ हजार सहयोग
झापा, वैशाख २१
झापा गोल्डकप फुटबल प्रतियोगिताका अध्यक्ष तथा कञ्चन निर्माण सेवाका सञ्चालक केदार गिरीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको 'व्यवसायी सदस्य राहत कोष'मा ५१ हजार एक सय रुपैयाँ सहयोग गरेका छन्।
व्यवसायीहरू आपत्-विपत् परेका बेला तत्काल राहत उपलब्ध गराउने उद्देश्यले संघले एक करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको हो। सोही कोषमा योगदान दिँदै गिरीले आफ्नो जन्मदिनको अवसरमा उक्त सहयोग गरेका हुन्।
गिरीले आफूले प्रत्येक जन्मदिनमा सो कोषमा ५१ हजार एक सय रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। साथै, उनले अन्य व्यवसायीहरूलाई पनि यस्तो सामाजिक उत्तरदायित्वमा सहभागी हुन आह्वान गरे।
संघका अध्यक्ष राजु न्यौपानेलाई सहयोग रकम हस्तान्तरण गर्दै गिरीले कोषको पहलको प्रशंसा गरे। सो अवसरमा संघले गिरीलाई कदरपत्रसहित सम्मान पनि गरेको थियो। सम्मानपत्र संघका अध्यक्ष न्यौपाने, महासचिव कुशल खतिवडा तथा राहत कोष संयोजक राजकुमार घिमिरे (राजु) लगायतले संयुक्त रूपमा प्रदान गरेका थिए।
Comments
Post a Comment