कोलाटोली खानेपानीमा चरम बेतिथी:तीन ठूला दलको पत्रकार सम्मेलन

 




३ जेठ बिर्तामोड
 बिर्तामोड नगरपालिका–९ मा निर्माण भइरहेको कोलाटोली खानेपानी संस्थामा देखिएको चरम अनियमितता र बेतिथी विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपालगायत राजनीतिक दलहरू एक ठाउँमा उभिएका छन्।

शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा ती दलहरूले डेढ दशकअघि सुरु भएको आयोजना हालसम्म सम्पन्न नहुँदा जनतामा निराशा बढेको भन्दै गम्भीर आपत्ति जनाएका हुन्। दलहरूका अनुसार संस्थाले अहिलेसम्म खानेपानी वितरण गर्न सकेको छैन, राज्यको लगानी व्यक्तिको  जग्गामा गरिएको छ, लेखापरीक्षण सार्वजनिक गरिएको छैन, समिति गठनमा पारदर्शिता छैन, र वर्षेनी बजेट निकासा भए तापनि त्यसको प्रत्यक्ष उपयोगिता देखिँदैन भनि टिप्पणी गरेका हुन्।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बिर्तामोड नगर उपसभापति सूर्य प्रसाद कन्दङवाले व्यक्तिको नाममा रहेको जग्गामा राज्यको लगानी दुरुपयोग भएको बताए। पटक–पटक खबरदारी गर्दा पनि सुनुवाई नभएकाले पत्रकार सम्मेलन गर्न बाध्य भएको उनको भनाई थियो। अव उप्रान्त सुशासन नभए उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने चेतावनी समेत उनले दिए।

नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बाले स–साना योजनामा कडाई भए पनि लाखौं रुपैयाँ व्यक्तिको जग्गामा खर्च भैसक्दा पनि कसरी छूट दिइएको हो भन्ने प्रश्न उठाए। उनले कोलाटोली खानेपानी संस्थाको कार्य विधिसम्मत बनाउन पनि माग गरे।

राप्रपा नगर अध्यक्ष लक्ष्मी गौतमले यसअघि नै पालिकामा ज्ञापनपत्र बुझाउँदा कोलाटोली खानेपानीको बिषय उठाएको स्मरण गर्दै, अन्य दलहरूले समेत यसमा आज समर्थन जनाएकोमा धन्यवाद व्यक्त गरे। पालिकाले दलनिकट व्यक्तिहरूलाई समितिमा राखेर पारदर्शिताविना बजेट निकासा गरेको गुनासो गर्दै उनले सबै वडामा बेतिथि बिरुद्ध खबरदारी गर्न दलहरूलाई आग्रह गरे।

पत्रकार सम्मेलनमा सहभागी नेताहरूले तत्काल संस्थाको नाममा जग्गा नामसारी गर्न र हालसम्मको हिसाब सार्वजनिक गर्न माग गरे। अन्यथा अख्तियारमा जाने चेतावनी समेत दिइयो।

करीब १६ वर्षअघि ३ कठ्ठा जग्गामा सुरु भएको आयोजनामा पानीको ट्याङ्की, दुई प्रशासनिक भवन र कम्पाउन्ड वाल निर्माण भइसकेको भए पनि जीर्ण बन्दै गएको छ। कतिपय भौतिक संरचना काम नलाग्ने भएको जिकिर गरे। केवल १ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ भने अन्य पाइपहरू अव्यवस्थित अवस्थामा छन्।

पत्रकार सम्मेलनमा कांग्रेस तरुण दलका केन्द्रिय सदस्य सजेश शिवाकोटी, माओवादी केन्द्र वडा अध्यक्ष केशव उप्रेती, बिर्तामोड सचिव जगनाथ भट्टराई, राप्रपाका बिर्तामोड -९ वडा समिति अध्यक्ष वसन्त खड्का, समाजसेवी धर्म लक्सम्बा लगायतको उपस्थिति थियो।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते