बिर्तामोडका विद्यालयमा ट्राफिक सचेतना शिक्षा सुरु




झापा,असार १४
 झापामा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न बिर्तामोड नगरपालिकाले विद्यार्थी लक्षित ट्राफिक सचेतना शिक्षा अभियान सुरु गरेको छ। चालु आर्थिक वर्षमा मात्रै जिल्लामा १,७०० भन्दा बढी सवारी दुर्घटनामा ८३ जनाले ज्यान गुमाएका छन्। तीमध्ये धेरैजसो मोटरसाइकल चालक रहेका छन् भने १५ देखि ४० वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित देखिएको छ।

सडक दुर्घटना न्यूनीकरणको उद्देश्यले बिर्तामोड नगर क्षेत्रभित्र रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा ट्राफिक सचेतना शिक्षा कार्यक्रम सञ्चालन गर्न थालिएको हो। कार्यक्रम अन्तर्गत नगरका सबै विद्यालयका प्रधानाध्यापक र सामाजिक विषय अध्यापन गराउने शिक्षकलाई एक दिने प्रशिक्षण दिइएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे अनिवार्यरूपमा जानकारी दिनुपर्नेमा जोड दिए। शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तीलचन भण्डारीले स्थानीय पाठ्यक्रममै ट्राफिक शिक्षा समावेश भएकाले विद्यालयस्तरमै सचेतना फैलाउनु जरुरी रहेको बताए। आवश्यक परे नगरपालिका स्वयं सहजीकरण गर्ने उनले बताए।

कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र बिर्तामोड नगरपालिकाको सहकार्यमा अन्तु मिडिया प्रा.लि.ले आयोजना गरेको हो। सहजीकरण प्रहरी निरीक्षक गणेश पौडेलले गरेका थिए।

पत्रकार सुरेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवी माध्यमिक विद्यालयकी प्रधानाध्यापक अम्विका श्रेष्ठले विद्यालयमा ट्राफिक प्रहरीको उपस्थिति सुनिश्चित गर्दै नियमित रूपमा ट्राफिक शिक्षा सञ्चालन गर्नुपर्ने धारणा राखिन्। कार्यक्रममा सहभागी शिक्षकहरूले आफ्ना विद्यालयमा विद्यार्थीलाई ट्राफिक सचेतना र सडक सुरक्षाबारे जानकारी गराउने प्रतिबद्धता जनाए। उनीहरूलाई ‘ट्राफिक शिक्षक’को रूपमा प्रमाणपत्र समेत प्रदान गरिएको थियो।


Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला