बिर्तामोडमा ठूलाे चोरी प्रकरणको खुलासा,तीन जना पक्राउ
बिर्तामोड नगरपालिका–४ निवासी कमला कार्कीको घरमा करिब एक महिनाअघि भएको ठूलो चोरी प्रकरणमा ती तीनजना संलग्न रहेको खुलेको हो। प्रहरीका अनुसार, बैशाख १५ गते दिउँसो १:३० बजेतिर कार्कीको घरको मूल ढोकाको ताल्चा फोडी चोरी गरिएको थियो। चोरहरूले कोठाभित्र रहेको दराजको सेफ लकरसमेत फुटाएर नगदसहित सुनका विभिन्न गहना चोरी गरेका थिए।
चोरीमा परेका गहनामा ५ तोला सुन, पाँच तोला आठ आनी सुनबाट बनेका ब्रास्लेट, सिक्री, औंठी, चन्द्रमा, चोकर र लकेटसहित करिब २९ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको अनुमान गरिएको छ।
प्रहरी अनुसन्धानका क्रममा बिर्तामोड–७ का २७ वर्षीय दिपेश खवासलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले चोरीको दोष स्वीकार गरेका छन्। उनले उक्त गहना बिर्तामोड–४ का ३५ वर्षीय पवन चौधरीलाई बिक्री गरेको बयान दिएका छन्।
पवन चौधरीलाई पनि नियन्त्रणमा लिएपछि उनले चोरीको गहना मेचीनगर–१०, धुलावारीका ३३ वर्षीय जय ज्वेलर्स सञ्चालक आशिष श्रापलाई बेचेको बताएका छन्। प्रहरीका अनुसार, जय ज्वेलर्समा चोरी भएको गहनामध्ये १ तोला २३ लाल र ८ प्वाइन्ट सुन फेला परेको छ।
हाल पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान जारी रहेको र अन्य चोरी घटनासम्बन्धी विवरणहरू पनि खोतलिँदै गएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
Comments
Post a Comment