विज्ञान प्रदर्शनीमा आदर्श मावि प्रथम,चार लाख नगद पुरस्कार प्राप्त
२६ जेठ,बिर्तामोड
झापाको बिर्तामोड–५ स्थित देवी माविमा सम्पन्न कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ। कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूबीच भएको यस प्रदर्शनीले विद्यार्थीहरूमा विज्ञान र नवप्रवर्तनप्रतिको अभिरुचि उजागर गरेको आयोजकले जनाएको छ।
नेकपा एमालेको कोशी विज्ञान तथा प्रविधि विभागको आयोजनामा जेठ २४ देखि २६ गतेसम्म सञ्चालित उक्त कार्यक्रमको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।
प्रतिस्पर्धामा झापाको बुद्धशान्ति गाउँपालिकास्थित आदर्श मावि उत्कृष्ट ठहरिँदै प्रथम भएको छ। विद्यालयले रु. ४ लाख नगद पुरस्कार प्राप्त गरेको हो। द्वितीय स्थान बिर्तामोड–५ को देवी माविले हासिल गर्दै रु. ३ लाख प्राप्त गरेको छ भने तेह्रथुमको सिंहदेवी मावि तृतीय स्थानमा रहँदै रु. २ लाख नगद जित्न सफल भएको छ।
प्रतिभा पहिचान अन्तर्गत सम्मानित विद्यालयहरूमा:
फिदिम मावि, पाँचथर
फिक्कल मावि, इलाम
ल्याबोरेटरी मावि, सुनसरी
चिसापानी मावि, खोटाङ
भानु जन मावि, ताप्लेजुङ
मनकामना रत्न अम्बिका मावि, संखुवासभा
हिमाली मावि, झापा
त्रिवेणी मावि, धनकुटा
रिलायन्स अंग्रेजी मावि, मोरङ प्रत्येक लाई पच्चिस हजार नगदले विशेष सम्मान प्रदान गरिएको थियो।
विद्यार्थीहरूले विज्ञान, वातावरण, प्रविधि तथा सामाजिक सेवामा केन्द्रित परियोजनाहरू प्रस्तुत गरेका थिए, जसले नविनता र अनुसन्धानको प्रेरणा दिएको आयोजक पक्षले जनाएको छ।
कार्यक्रमले प्रयोगात्मक सिकाइको महत्त्वलाई झल्काउँदै आगामी वर्षहरूमा अझ विस्तारित रूपमा यस्ता प्रदर्शनीहरू आयोजना गरिने जानकारी समेत दिइएको छ।
Comments
Post a Comment