अमेरिकाबाट पूर्व झापा व्यवसायीको राहत कोषमा सहयोग
झापा,साउन ८
बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा अमेरिकाबाट सहयोग प्राप्त भएको छ। बिर्तामोडमा लामो समय व्यवसाय गर्दै आएका तथा हाल अमेरिका बसोबास गर्दै आएका झापाली व्यवसायी चुडा आचार्यले संघको राहत कोषमा ४० हजार ६ सय ९९ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।
संघका वरिष्ठ उपाध्यक्ष तथा राहत कोष संयोजक राजकुमार घिमिरे ‘राजु’का अनुसार, विपद्मा परेका व्यवसायीहरूको सहयोगका लागि स्थापना गरिएको कोषमा विदेशमा रहेका व्यवसायीको समेत चासो र सहभागिता हुनु उत्साहजनक संकेत हो। “देशभित्र मात्र होइन, विदेशमा रहेका झापालीहरूले पनि कोषमा योगदान दिँदा कोषको लक्ष्य चाँडै पूरा हुने हाम्रो अपेक्षा छ,” संयोजक घिमिरेले भने।
बिर्तामोड उद्योग वाणिज्य संघले कुल एक करोड रुपैयाँको लक्ष्यसहित राहत कोष स्थापना गरेको छ। हालसम्म कोषमा जम्मा भएको रकम २२ लाख रुपैयाँ पुगेको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए।
संघका अनुसार व्यवसायी आचार्य र उनकी धर्मपत्नी मन्दरा आचार्यले अमेरिका बसाइका बाबजुद संघको यो पहलप्रति सकारात्मक भावनासहित सहयोग उपलब्ध गराएका हुन्। संघले आचार्य दम्पतीप्रति आभार व्यक्त गरेको छ।
स्थानीय व्यवसायीको हितका लागि स्थापना गरिएको यस राहत कोषलाई देश–विदेशबाट मिलेको समर्थनले अझ सशक्त र प्रभावकारी बनाउने विश्वास संघले लिएको छ।
Comments
Post a Comment