बाह्रदशीमा गर्भवती महिलाकालागि स्वास्थ्य सेवा र पोषण कार्यक्रम
श्रावण -८,झापा
नेकपा एमाले बाह्रदशी गाउँकमिटी अध्यक्ष तथा युवा उद्यमी अनिल सापकोटाको विशेष पहलमा आयोजित कार्यक्रम रोट्र्याक्ट क्लब अफ बिर्तामोडको सह–आयोजना र बाह्रदशी गाउँपालिका वडा नं. ४ को व्यवस्थापनमा सम्पन्न भयो।
कार्यक्रम वडाध्यक्ष महताव आलमको प्रमुख आतिथ्य र रोटरी क्लब अफ बिर्तामोड मिड टाउनकी अध्यक्ष पुष्पाञ्जली सिन्हा ठाकुरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियङ्का कटुवाल, स्वास्थ्य शाखा प्रमुख राम शाह, होम कार्की, अनिल सापकोटा लगायतको सहभागिता रहेको थियो।
क्लबका सचिव रोशन बुढाथोकीले कार्यक्रम सहजीकरण गरेका थिए भने अनिल सापकोटाले स्वागत मन्तव्य दिएका थिए। प्रमुख अतिथि आलम र स्वास्थ्य प्रमुख शाहले क्लबले सञ्चालन गरेको अभियानको प्रशंसा गरेका थिए।
कार्यक्रमका दौरान २५ जना भन्दा बढी गर्भवती महिलालाई विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपिडी सेवा प्रदान गरिएको थियो। साथै, ५० जना गर्भवती महिलालाई पोषिलो खानेकुरा वितरण गरिएको थियो।
क्लबकी अध्यक्ष सिन्हाले गर्भवती महिलालाई मातृ स्वास्थ्य, हेरचाह र पोषणको महत्वबारे जानकारी दिएकी थिइन्। त्यस्तै, डा. प्रियङ्का कटुवालले गर्भकालमा देखिन सक्ने स्वास्थ्य समस्याबारे सचेत गराउँदै तिनको व्यवस्थापनबारे प्रशिक्षण दिइन्।
कार्यक्रमको विशेष क्षणमा डा. कटुवालले एक गर्भवती महिलाको शल्यक्रिया आवश्यक परेको जनाउँदै उनको उपचार निःशुल्क गरिने घोषणा गरेकी थिइन्।
यस कार्यक्रमले स्थानीय गर्भवती महिलाहरूको स्वास्थ्य सचेतना र सेवा पहुँचमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Comments
Post a Comment