पुजा सामग्री उद्योगमा मुख्यमन्त्री कार्कीको निरीक्षण
दमक,साउन -१०
निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीले स्वदेशी कच्चा पदार्थमा आधारित धार्मिक सामग्री उत्पादनले स्थानीय रोजगारी, संस्कृति संरक्षण र आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान दिन सक्ने धारणा राखे। उनले प्रदेश सरकार आत्मनिर्भरतातर्फ उन्मुख भइरहेका यस्ता उत्पादनमूलक उद्योगहरूलाई आवश्यक नीतिगत सहजीकरण र सहयोग गर्न प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्रीले भने, “धार्मिक आस्था र संस्कृतिसँग जोडिएका यस्ता उद्योग प्रदेशको उद्यमशीलता अभिवृद्धि गर्नका लागि उदाहरणीय बन्न सक्छन्।”
निरीक्षण भ्रमणका क्रममा उद्योगका अध्यक्ष विष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख बबिता तिम्सिनाले उद्योगको स्थापना, उत्पादन प्रक्रिया तथा बजार विस्तारसम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरे। अध्यक्ष पोखरेलका अनुसार ‘दिब्यदृष्टि’ ब्रान्ड अन्तर्गत शुद्ध, शास्त्रसम्मत र घरेलु स्रोतमा आधारित पूजा सामग्री उत्पादन हुँदै आएको छ।
उद्योगबाट उत्पादन हुने सामग्रीमा नवग्रह समिधा, हवन सामग्री, बाटेको धुप, परिमल, सप्तधान्य, गंगाजल, गौ अर्क, पञ्चरत्न, सर्वोषधि, लगायत दुई दर्जनभन्दा बढी आइटमहरू रहेका छन्। यी सामग्रीहरू हाल कोशी प्रदेशका सबै जिल्लासहित काठमाडौं, चितवन, बुटवल, नेपालगञ्ज, बागलुङ आदि स्थानमा आपूर्ति भइरहेको छ।
कार्यकारी प्रमुख तिम्सिनाले उद्योगले ६० भन्दा बढी महिलालाई अर्धरोजगार र १५ जनालाई पूर्णरोजगार प्रदान गरेको जानकारी दिँदै निकट भविष्यमा प्याकेजिङ सुधार, बजार विस्तार तथा अन्तर्राष्ट्रिय निर्यात लक्ष्य रहेको बताइन्।
उद्योगले स्थानीय कच्चा पदार्थको उपयोग, महिला उद्यमशक्ति अभिवृद्धि र जैविक उत्पादन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको जनाइएको छ।
निरीक्षण भ्रमणमा प्रदेशसभा सदस्य होमबहादुर थापा लगायत अन्य जनप्रतिनिधिको समेत उपस्थिति थियो।
Comments
Post a Comment