वैरागी काइँलाको ८७औं जन्मोत्सव माङगेन्ना र कविता वाचनसहित सम्पन्न
२६ श्रावण,दमक
नेपाल लिटरेरी ग्रुपको आयोजना तथा किरात मुन्धुम प्रतिष्ठान र फरक आयामको सहकार्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार लछामी सेर्मा पापोले मुन्धुम वाचन गर्दै माङगेन्ना उठाएर कार्यक्रमको सुरुवात गरे।
स्रष्टाहरुले काइँलाका चर्चित कविताहरु वाचन गर्दै उनको साहित्यिक योगदानको चर्चा गरेका थिए। कवि तथा गजलकार शिव रेग्मी प्रणतले ‘मातेको मान्छेको भाषणः मध्यरातपछिको सडक’ वाचन गर्दै आयामेली आन्दोलनका अभियान्ता इन्द्रबहादुर राई र ईश्वर वल्लभलाई पनि सम्झिए।
प्राज्ञ सुमित्र वाङ्देल ‘चेली’ले तेस्रो आयामको नेपाली साहित्यमा योगदानबारे धारणा राखिन् भने याक्थुङ प्रतिष्ठान दमकका कुलपति सेसेमी से नाल्बोले काइँलाले याक्थुङ साहित्यमा पुर्याएको योगदानको प्रशंसा गरे। फरक आयामका संयोजक साङसेन पन्धाकले केक काट्ने भन्दा माङगेन्ना गरेर जन्मोत्सव मनाउनु मौलिक संस्कृतिको संरक्षण भएको बताए।
कार्यक्रममा विक्रम वनेम फागो, रचना लाओती कुसाङ, चोमु पासाङ शेर्पा, दिल भुटानी र जिवन विवश बेघाले पनि काइँलाका कविता वाचन गरेका थिए। कार्यक्रम नेपाल लिटरेरी ग्रुपका अध्यक्ष प्रकाश बुडाथोकीको समापन मन्तव्यसँगै सम्पन्न भयो।
Comments
Post a Comment