बिर्तामोड–८ मा नेपाली कांग्रेसको तीज मिलन कार्यक्रम सम्पन्न


बिर्तामोड,भदौ ६

नेपाली कांग्रेस वडा नं.–८ समिति तथा महिला संघको संयुक्त आयोजनामा तीज मिलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। वडाको स्थानीय हर्चनामा सम्पन्न कार्यक्रममा करिब पाँच सय जना महिला दिदीबहिनी तथा आगन्तुकको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रम नेपाली कांग्रेस वडा नं.–८ का सभापति उत्तम कटुवालको सभापतित्वमा तथा नेपाली कांग्रेस झापा जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय सदस्य उमा शिवाकोटी,क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महिला संघ झापा सभापति टिका मैनाली सिटौला,नगर सभापति भोजराज सिटौला, वडा नं.–९ का सभापति बासुदेव अधिकारीसहित विभिन्न नेताहरुको उपस्थिति रहेको थियो।

नेता तथा अतिथिहरुले नेपाली कांग्रेसका संस्थापक नेता स्व. बिपी कोइरालाको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। सम्बोधनका क्रममा वक्ताहरुले तीज पर्वले महिलाबीच आपसी स्नेह र खुशी आदान–प्रदान गर्ने परम्परालाई जीवित राख्ने सन्देश दिएको उल्लेख गर्दै उपस्थित सबैलाई शुभकामना व्यक्त गरे।

आयोजक कमिटिका तर्फबाट स्वागत मन्तव्य राख्दै नेपाल किसान संघका केन्द्रीय सदस्य चिरञ्जीवी कार्कीले परिस्थितिबस माइत जान नसक्ने चेलीबेटीलाई पनि यस्ता कार्यक्रमले खुसी साट्ने अवसर प्रदान गर्ने बताए। त्यस्तै, सभापति उत्तम कटुवालले आगामी वर्ष वडाका महिला दिदि बहिनीहरुलाई करिब ३५० थान सारी वितरण गरी एउटै पहिरनमा सामूहिक रूपमा तीज मनाउने योजना रहेको जानकारी गराए।

कार्यक्रममा नृत्य प्रतियोगिता, म्युजिकल चेयर र गुच्चा दौडजस्ता रमाइला खेल तथा सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो। नृत्यतर्फ लाली गुराँस इंग्लिस स्कुल,शुक्रराज आधारभूत विद्यालय र दुर्गा माविका विद्यार्थी पुरस्कृत भए भने,म्युजिकल चेयरमा रमा नेपाल विजयी भइन्। गुच्चा दौडमा किरण सिटौला,भावना अधिकारी र प्रतिमा मैनालीले क्रमशः प्रथम,द्वितीय र तृतीय स्थान हासिल गरे। विजेताहरुलाई प्रमुख अतिथि गुरुङ्ग र महिला संघ झापा सभापति टिका सिटौलाले नगद पुरस्कार वितरण गरेका थिए।

सम्पूर्ण पुरस्कारको प्रायोजन हाल जापानमा रहँदै आएका बिर्तामोड–७ का दिनेश पराजुलीले गरेका थिए। नृत्य प्रतियोगिताको निर्णय उमा शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय निर्णायक मण्डलीले गरेको हो भने म्यूजिकल चियरको निर्णायक बासु अधिकारी र आशिष लिम्बु साथै गुच्चा दौडको निर्णायक हरिमोहन सिटौला रहेका हुन्।

कार्यक्रमलाई साई क्याटरिङ बिर्तामोडले खानपिन व्यवस्थापन गरेको थियो भने साउण्ड सिस्टमको जिम्मेवारी आर एस एसले वहन गरेको थियो। कार्यक्रमको शुरु मध्यान्ह र अन्त्यमा महिला दिदीबहिनी र अतिथिहरुले सामूहिक तीज को गीतमा नृत्य प्रस्तुत गर्दै तीजको माहोललाई झन् रमाइलो बनाएका थिए।


Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला