दमकमा मिडिया सञ्चालक र पत्रकारलाई सामाजिक सुरक्षा कोषबारे अभिमुखिकरण

 


दमक । झापाको दमकमा मिडिया सञ्चालक र पत्रकारहरुलाई सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापनबारे अभिमुखिकरण गरिएको छ । प्रेस चौतारी नेपाल झापाको आयोजनामा भएको कार्यक्रममा सामाजिक सुरक्षा कोष कोशी प्रदेश प्रमुख दिपकराज भट्ट र आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख ज्ञानेन्द्र प्रसाद यादवले सहजीकरण गरेका थिए ।


कार्यक्रममा प्रमुख सहजकर्ता भट्टले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको स्थापना, उद्देश्य, सञ्चालन, योगदानकर्ता, योजना, आवद्ध हुने प्रक्रिया, प्राप्त हुने लाभ र आश्रित परिवारले पाउने सुविधा लगायतका विषयमा विस्तृत जानकारी दिए । उनका अनुसार, श्रमिक र रोजगारदाताले संयुक्त रूपमा मासिक तलबको ३१ प्रतिशत योगदान गर्ने व्यवस्था गरिएको छ । जसअन्तर्गत कामदारको तलबबाट ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत कटानी हुने उनले स्पष्ट पारे ।


कोषमा आबद्ध भएपछि योगदानकर्ताले दुर्घटना विमा, स्वास्थ्योपचार, मातृत्व तथा शिशु स्याहार भत्ता, घातक रोग उपचार, दीर्घकालीन पेन्सन लगायतका सुविधा प्राप्त गर्नेछन् । उनले औपचारिक, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक र वैदेशिक रोजगारमा रहेका व्यक्तिहरू पनि यसमा आबद्ध हुन सक्ने जानकारी दिए ।


यस्तै, राजश्व कार्यालयका प्रमुख यादवले कर प्रणाली र लेखा व्यवस्थापनबारे सहजीकरण गर्दै कारोबारअनुसार कर तिर्नुपर्ने, समयमा कर नबुझाउँदा जरिवाना तिर्नुपर्ने र बिल–विजकको व्यवस्थाबारे सहभागीहरूलाई अवगत गराए ।


सहभागी मिडिया सञ्चालक र पत्रकारले सहजकर्तासँग जिज्ञासा राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइटेलले योगदानमा आधारित सामाजिक सुरक्षा श्रमिकका लागि भविष्यमा बलियो टेवा हुने विश्वास व्यक्त गर्दै सबैलाई अनिवार्य रुपमा यसमा आबद्ध हुन सुझाव दिए ।


कार्यक्रम प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा चौतारीका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्ले, केन्द्रीय सदस्य विष्णु पोखरेल, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, हिमशिखर टिभीका सञ्चालक ध्रुव न्यौपाने, प्रदेश उपाध्यक्ष युवराज विवश, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराईलगायतको सहभागिता रहेको उपाध्यक्ष राजु पोखरेलले जानकारी दिए ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला