बिराटपोखरीमा हरितालिका तीज नृत्य प्रतियोगिता सम्पन्न,विजेतालाई सम्मान
भदौ १०,बिर्तामोड
हरितालिका तीजकै दिन आयोजना गरिएको सो प्रतियोगितामा पन्ध्र वर्ष उमेर समूहसम्मका सत्र जना बालबालिकाको सहभागिता रहेको थियो। प्रतियोगितामा बिर्तामोड–३ की जेनिफर बुढाथोकी प्रथम स्थान हासिल गर्दै रु. पाँचहजार नगदसहित प्रमाणपत्र प्राप्त गरिन्। त्यस्तै बिर्तामोड–३ की रिया प्रसाई द्वितीय हुँदै रु. तीनहजार र प्रमाणपत्र, बिर्तामोड–९ की कृत्तिका पौडेल तृतीय हुँदै रु. दुईहजार र प्रमाणपत्र तथा बिर्तामोड–१० की समृद्धि निरौला सान्त्वना हुँदै रु. एक हजार नगद र प्रमाणपत्र प्राप्त गरिन्।
प्रथम पुरस्कार बिर्तामोड–१० निवासी हेनिसा परामर्श सेवाका प्रोपाइटर तथा लक्ष्मी नारायण कीर्तन मण्डलीका सचिव रुद्र चुडालले प्रायोजन गरेका थिए भने द्वितीय पुरस्कार नेपाल चिया प्याकेजिङ्ग कोशी प्रदेश अध्यक्ष बिरन कोइरालाले प्रायोजन गरेका थिए।
यसअघि समितिले आयोजना गरेको भिडियो रिल्स प्रतियोगिताका विजेताहरूमध्ये चण्डिका सिटौला सेढाई, कञ्चन भण्डारी खनाल, आयुषा अधिकारी र स्वस्तिका खतिवडालाई क्रमशः रु. पाँचहजार, तीनहजार, दुईहजार रु. एकहजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो।
कार्यक्रमका क्रममा समाजसेवी दाता मोहन उप्रेती र उनकी धर्मपत्नी सिता उप्रेतीलाई हालै बिराटपोखरी परिसरभित्र निजी खर्चमा करिब रु. दुईलाख पचास हजार लगानीमा चौतारो निर्माण गरी सहयोग पुर्याएको योगदानको कदर गर्दै सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो।
अध्यक्ष इन्द्रप्रसाद प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाई, वडा अध्यक्ष मदन बुढाथोकी, वडा सदस्य हरि बाँस्कोटा, बिराट आधारभूत विद्यालय प्रमुख कृष्णमाया दुलाल शिवाकोटी, ईलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठ, झापा जिल्ला ट्राफिक प्रमुख गणेश पौडेल, बिर्ताबजार व्यवस्थापन समितिका सचिव तुलसी ढकाल, समाजसेवी कमलप्रसाद कडरिया, सन्तोष उप्रेती,प्रहरी चौकी इञ्चार्ज पदम बिष्टलगायतको उपस्थिति रहेको थियो।
अध्यक्ष प्रसाईले यस वर्षको तीज कार्यक्रमलाई नौलो अभ्यास स्वरूप पानीको फोहोरा र आकर्षक फोटो खिच्ने स्थलसहित मनाइएको बताउँदै, आगामी दिनमा अझ नयाँ प्रविधि र सजावट थप गरेर तीजलाई उल्लासमय रूपमा मनाइने योजना रहेको जानकारी दिए। साथै, १५ वर्षमुनिका बालबालिकालाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरी पुरस्कृत गरिएको उनले बताए।
त्यसैगरी प्रमुख अतिथि मेयर पवित्रा महतरा प्रसाईले तीजलाई सांस्कृतिक पर्वका रूपमा एकताबद्ध भई हर्षोल्लासपूर्वक मनाउन अपील गर्दै, यस किसिमका सांस्कृतिक कार्यक्रमले समाजमा ऐक्यबद्धता र सौहार्द बढाउने धारणा व्यक्त गरिन्।
नृत्य प्रतियोगिताको निर्णायकमा आशिष सुब्बा, रिदम दियाली र समिर विश्वकर्मा रहेका थिए। कार्यक्रममा स्वागत सहसचिव अर्जुन उप्रेतीले गरेका थिए कार्यक्रममा प्रमुख अतिथि प्रसाईले ब्यानर बाचन गरेर उद्घाटन गरिएको कार्यक्रमको सञ्चालन सचिव जगन्नाथ भट्टराई र अर्जुन उप्रेतीले संयुक्त रूपमा गरेका हुन्।
Comments
Post a Comment