३४औं अन्तर्राष्ट्रिय अपांगता दिवस दूधेमा भव्यतापूर्वक सम्पन्न




१७ मंसिर ,झापा

नेपाल आदिवासी जनजाति अपाङ्ग संघ कोशी प्रदेशको आयोजना, आदिवासी जनजाति नेत्रहिन संघ शिवसताक्षी–११ को सहकार्य तथा एबिलिस फाउण्डेसनको सहयोगमा “अपांगता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको सम्बद्धन” भन्ने मूल नारासहित ३४औं अन्तर्राष्ट्रिय अपांगता दिवस झापाको दूधेमा भव्यतापूर्वक सम्पन्न भएको छ।

मध्यान्ह विभिन्न अपांगता भएका व्यक्तिहरू तथा संघ–संस्थाका प्रतिनिधिहरूको सहभागितासहित प्रभातफेरीबाट कार्यक्रम सुरू भयो। सहभागीहरूले अपांगता भएका व्यक्तिहरूका अधिकार, माग र सामाजिक पहिचानका पक्षमा बुलन्द नारा लगाउँदै दूधे बजार परिक्रमा गरे।

रयाली पश्चात दुधेबजार स्थितआदिबासी जनजाति सामूदायिक भवनको सभाहलमा  आयोजित औपचारिक कार्यक्रम सामुदायिक सहभागिता, उत्साह र एकताको माहोलबीच मन्तव्य, अनुभव–विनिमय तथा सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति अपाङ्ग संघ कोशी प्रदेशका अध्यक्ष भोजकुमार तामाङले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि संघीय लिम्बुवान पार्टीका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर इम्बुङ, विशिष्ट अतिथि प्राज्ञ सुमित्रा वाङ्देल चेली, विशेषअतिथि कृष्णकुमार थेवे, तथा अतिथिहरु पूर्वाञ्चल असहाय र बृद्ध सेवा केन्द्र इटहरीका अध्यक्ष तृप्ता मगर, सञ्चारकर्मी बिरेन्द्र कुमार याक्थुम्बालगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष तामाङले अपांगता भएका व्यक्तिहरूको आयोग गठन गर्नुपर्ने, साथै सरकारी वा गैरसरकारी सेवामा कार्यरत अपांगता भएका कर्मचारीलाई अपांगता दिवसको दिन बिदा दिनुपर्ने माग राख्दै आफ्नो धारणा सार्वजनिक गरे। साथै उनले दिवस मनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।

प्रमुख अतिथि इम्बुङले देशको प्रणाली कमजोर रहेको उल्लेख गर्दै “हामीले चाहेको संघीयता अहिले अभ्यास भइरहेको संघीयता होइन” भन्दै वास्तविक संघीयता कार्यान्वयन भए देश समृद्ध बन्ने बताएका थिए।

विशिष्ट अतिथि वाङ्देल चेलीले अपांगता भएका व्यक्तिहरूप्रति आफ्नो सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरिन्।

अन्य वक्ता कृष्णकुमार थेवे, तृप्ता मगर लगायतले पनि अपांगता दिवसको शुभकामना व्यक्त गरे।

कार्यक्रममा बेघा एकता समाज शिवसताक्षी–९ का टोली प्रमुख गंगाबहादुर बेघाको नेतृत्वमा प्रस्तुत च्याब्रुङ नृत्यले माहोल झनै उत्साहपूर्ण बनाएको थियो।

कार्यक्रमको स्वागत आदिबासी जनजाति नेत्रहिन संघ झापाका कोषाध्यक्ष प्रदिप राजबंशीले गरे भने सञ्चालन सोही संस्थाको सचिव अनिल मुखियाले गरेका थिए।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति