बिराटपोखर महिला समूहको आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न
१९ पुष,बिर्तामोड
बिर्तामोड–१० स्थित बिराटपोखर महिला समूहको आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन श्री बिराट आधारभूत विद्यालय,बिर्तामोड–१० को प्राङ्गणमा सम्पन्न भएको छ।
समूह अध्यक्ष कृष्णकुमारी प्रसाईको अध्यक्षता तथा बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको हो। प्रमुख अतिथि गुरुङले समूहको ब्यानर वाचन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यक्रममा बिर्तामोड–१० र ३ नम्बर वडामा बसोबास गर्ने विपन्न बालबालिका,महिला तथा वृद्धवृद्धा,बिपन्न,बालबालिक पूजा चौधरी,अनारमती ऋषिदेब,उमादेबी यादव,कलन्दी ऋषिदेव,चादमनी हास्दा,सुफल सिवा, हास्दा,राधिका ऋषिदेवलाई न्यानो कपडा, स्विटर,टोपी लगायतका सामग्री वितरण गरिएको थियो। उक्त सामग्री समूहले गत दीपावली पर्वमा देउसी–भैलो खेली संकलन गरेको रकमबाट सहयोगस्वरूप प्रदान गरेको अध्यक्ष प्रसाईले जानकारी दिनुभयो।
कार्यक्रममा समूहको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै सचिव तथा कार्यक्रम सञ्चालिका गीता चापागाईले आर्थिक कठिनाइका बाबजुद पनि समूहले हरेक वर्ष स्त्रीरोग विशेषज्ञको परामर्शमा डा. देज गौतमको नेतृत्वमा महिलाको स्तन,पाठेघर तथा नाक–कान–घाँटीको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको जानकारी दिनुभयो। यसबाट स्थानीय महिला तथा बिरामीहरू लाभान्वित हुँदै आएको उहाँले बताउनुभयो। साथै महिलालाई स्वरोजगारमुखी बनाउने उद्देश्यले धूप बनाउने,हर्पिक–फिनायल तथा झोल साबुन बनाउने तालिमसमेत सञ्चालन गरिएको जानकारी गराइयो।
त्यसैगरी समूहका सदस्यहरूले दैनिक प्रतिव्यक्ति एक रुपैयाँका दरले वार्षिक ३६५ रुपैयाँ संकलन गरी विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। कोषाध्यक्ष दिपा दंगाल प्रसाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सम्पूर्ण खर्च कटाएर समूहको कोषमा दुई लाख छयालिस हजार त्रिपन्न रुपैयाँ बचत रहेको जानकारी दिनुभयो।
कार्यक्रममा चण्डिका सेढाई र गीता चापागाईले गीत प्रस्तुत गरी उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा सल्लाहकार इन्द्रप्रसाद प्रसाई,मुकुन्द गौतम, मनकामना काली मन्दिर बिर्तामोड–१० का उपाध्यक्ष युवराज पराजुली, सिद्धिविनायक टोल विकास संस्था बिर्तामोड–१० का प्रतिनिधि हेमराज अधिकारी,बिराट आधारभूत विद्यालयकी प्रधानाध्यापक कृष्णकुमारी दुलाल,पूर्व प्रधानाध्यापक भद्रकला प्रसाईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
प्रमुख अतिथि गुरुङले समूहले निःशुल्क स्वास्थ्य सेवा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै नवगठित समितिलाई सफल कार्यकालको अग्रिम शुभकामना दिनुभयो। अध्यक्ष प्रसाईले बिशेषतः महिलालाहरुको जटिल रोग क्यान्सर प्रति सचेतना जगाउँदै समूहले निःशुल्क क्यान्सर जाँच परिक्षण तथा उपचारमा सहजीकरण गर्ने कार्य गर्न समूह तत्पर रहेको कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै बताउनु भयो। सदस्य लीला आर्चायले स्वागत गर्नुभएको उद्घाटन सत्रको संचालन सचिव गिता चापागाईले गर्नु भएको थियो ।
सोही कार्यक्रममा निर्वाचन मण्डल संयोजक कृष्णकुमारी दुलालको संयोजकत्वमा सम्पन्न सर्बसम्मतबाट आगामी दुई वर्षका लागि पुनः कृष्णकुमारी प्रसाई अध्यक्ष चयन हुनुभएको छ। उपाध्यक्षमा देवीमाया मिश्र, सचिवमा गीता चापागाई,सह–सचिवमा भद्रकला प्रसाई, कोषाध्यक्षमा दिपा दंगाल चयन हुनुभएको छ। सदस्यहरूमा मुनाओली,राधिका संग्रौला,चण्डिका सिटौला,बिन्दा खरेल,शोभा संग्रौला, लीला आचार्य र सृजना सिटौला सहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन भएको छ।
नवगठित समितिलाई अतिथिहरुले अबिर लगाई बधाई तथा शुभकामना व्यक्त गरिएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रसाईले आगामी दिनमा समूहलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। २०७५ सालमा स्थापित समूहमा ५८ जना सदस्य रहेको जनाईएको छ।

Comments
Post a Comment