बिष्णु भगवती स्कूलमा सरस्वती पूजा सम्पन्न,निःशुल्क भर्ना अभियानको शुभारम्भ
९ माघ,बिर्तामोड
बिर्तामोड–१०,बिराटपोखरमा अवस्थित बिष्णु भगवती स्मार्ट स्कूलमा आज विद्याकी देवी सरस्वती माताको भव्य पूजाआजा तथा विशेष धार्मिक कार्यक्रम सम्पन्न भएको छ। ज्ञान,कला र विद्या प्राप्तिको कामनासहित आयोजना गरिएको सरस्वती पूजाको अवसरमा विद्यालयले कक्षा PG नर्सरीदेखि कक्षा IX सम्मका लागि निःशुल्क भर्ना अभियानको औपचारिक रूपमा शुभारम्भ गरेको हो।
विद्यालयका संस्थापक प्रिन्सिपल पूण्य प्रसाद उप्रेतीका अनुसार समाजका सबै वर्गका बालबालिकालाई गुणस्तरीय, व्यवहारिक र आधुनिक शिक्षा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले निःशुल्क भर्ना अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी जीवन उपयोगी सीप र नैतिक मूल्यसहितको शिक्षामा विद्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमअन्तर्गत विद्यालय प्राङ्गणमा स्थापना गरिएको विद्याकी देवी सरस्वती माताको मूर्तिमा विशेष पूजारी पुष्पलाल भट्टराईले वैदिक परम्परा अनुसार विधिवत पूजा सम्पन्न गराउनुभएको थियो। पूजामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दाहाल उप्रेती,शिक्षक–कर्मचारी,विद्यार्थी,अभिभावक तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सरस्वती स्तुति गान, आरती तथा पूजा अर्चनामा सामूहिक रूपमा सहभागिता जनाएका थिए।
कार्यक्रमलाई सभ्य,भव्य र व्यवस्थित बनाउन दुई दिनअघिदेखि नै विद्यालय परिसरलाई आकर्षक रूपमा सजाइएको संस्थापक प्रिन्सिपल उप्रेतीले जानकारी दिनुभयो। धार्मिक तथा शैक्षिक महत्त्व बोकेको यस कार्यक्रममा स्थानीय सामाजिक तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा श्री बिराटपोखरी बहुउद्देश्यीय विकास समिति बिर्तामोड–३ का अध्यक्ष इन्द्र प्रसाद प्रसाई, श्री बिराट आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक देवी प्रसाद गौतम,विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि,नयाँ भर्नामा सहभागी विद्यार्थी,उनीहरूका अभिभावक तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो। सोही अवसरमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई अक्षराम्भ गराइनुका साथै उपस्थित सबैलाई प्रसाद वितरण गरिएको थियो।
वि.सं. २०७१ सालमा स्थापना भएको बिष्णु भगवती स्मार्ट स्कूलमा PG नर्सरी देखि कक्षा Ix सम्मको अध्ययन हुनुको साथै बालमैत्री र सुरक्षित शैक्षिक वातावरण प्रदान गर्दै आएको छ। विद्यालयमा प्ले लेभलका विद्यार्थीहरूका लागि व्यवस्थित खेलमैदान,बालमैत्री टिफिन गृह, स्वच्छ तथा सुरक्षित शौचालय,स्वच्छ पिउने पानीको व्यवस्था,विद्यार्थीमैत्री यातायात सुविधा,चमेनागृह,सुरक्षाको सुनिश्चितता लगायतका सम्पूर्ण भौतिक तथा आवश्यक पूर्वाधारहरू उपलब्ध रहेका छन्।
विद्यालय व्यवस्थापनले आगामी दिनमा शैक्षिक गुणस्तर अझ अभिवृद्धि गर्दै आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणाली,सह–पाठ्यक्रम गतिविधि तथा अभिभावक–विद्यालय सहकार्यलाई थप प्रभावकारी बनाउने योजना रहेको जनाएको छ। सरस्वती पूजाको पावन अवसरमा आयोजित यस कार्यक्रमले विद्यालयप्रति अभिभावक र स्थानीय समुदायको विश्वास अझ सुदृढ बनाएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।

Comments
Post a Comment