माघ २४ देखि झापा गोल्डकप-७ सुरु हुँदै,एक्सिट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक



१६ माघ,झापा
झापा बिर्तामोड–३ स्थित डोमालाल राजबंशी रंगशालामा आगामी माघ २४ गतेदेखि सञ्चालन हुने सातौँ संस्करणको ऐतिहासिक स्व.बिनोद बस्नेत स्मृति झापा गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजकसँगको हस्ताक्षर कार्यक्रम आज सम्पन्न भएको छ।

झापा बिर्तामोडस्थित अतिथि सदनमा सञ्चारकर्मीहरुलाई जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा यस संस्करणको मुख्य प्रायोजकको रूपमा एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्सिट्रिम इनर्जी ड्रिंक्स’ रहने जानकारी गराइएको हो।

एग्रो थाई फुड्सको तर्फबाट कन्ट्री मेनेजर पवन श्रेष्ठ र झापा गोल्डकपको तर्फबाट अध्यक्ष केदार गिरीले सहमति पत्रमा आजै हस्ताक्षर गर्नुभएको छ।

सहमति पत्रमा हस्ताक्षर पश्चात अध्यक्ष गिरीले यो सातौँ संस्करणको झापा गोल्डकप विगतको पाँचौँ र छैठौँ संस्करणलाई ऐतिहासिक रूपमा सफल बनाउने नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने पूर्व अध्यक्ष स्वर्गीय बिनोद बस्नेतको स्मृतिमा समर्पित रहेको बताउनुभयो।

पुरस्कार राशी वृद्धि,विजेतालाई १५ लाख

अध्यक्ष गिरीका अनुसार यस वर्ष झापा गोल्डकपको पुरस्कार राशी वृद्धि गरिएको छ। जसअनुसार विजेता टिमले रु. १५ लाख र उपविजेता टिमले रु. ७ लाख ५० हजार प्राप्त गर्नेछन्।

त्यसैगरी मस्ट भ्यालुएबल प्लेयरले एक थान मोटरसाइकल प्राप्त गर्नेछन्। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले क्रमशः नगद ३५ हजार को दरले पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ।

यो वर्ष दाताबाट प्राप्त भए बमोजिम प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई पनि नगद २५ हजार प्रदान गरिनेछ।

अध्यक्ष गिरीले जानकारी दिँदै भन्नुभयो कि विधागत पुरस्कारको सौजन्य अमेरिका निवासी रोशन लाल श्रेष्ठ सहितको टिमले गरेको हो।

१० टिम सहभागी

प्रतियोगितामा आयोजकका तर्फबाट झापा ११ फुटबल क्लब सहित चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी,एपीएफ एफसी,नेपाल पुलिस क्लब,मछिन्द्र एफसी,लाली गुराँस एसोसिएसन नेपाल पोखरा,रोयल थिम्पू भूटान,सिंग्लिङ स्पोर्टिङ क्लब भारत र एन पेनाङ एफसी मलेसिया सहभागी रहने जनाइएको छ।

यसैगरी झापा जिल्लाका पुराना एक जना फुटबल खेलाडीलाई तथा डोमालाल राजबंशी रंगशालाका जग्गादाता स्वर्गीय डोमालाल राजबंशीको परिवारलाई नगद २५ हजार सहित सम्मान गरिने जानकारी पनि दिइएको छ।

प्रतियोगिताको कूल खर्च करिब १ करोड ५० लाख रहने र प्रत्यक्ष तथा प्रसारण मार्फत लाखौँ दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ।

न्यूटन एजुकेशनको एक लाख सहयोग

कार्यक्रममा न्यूटन एजुकेशन बिर्तामोडका तर्फबाट विद्यालयका संस्थापक स्वर्गीय हरि कुमार प्रसाईको स्मृतिमा रु. एक लाख चेक झापा गोल्डकपलाई सहयोगार्थ न्यूटन स्कूलका प्रतिनिधि भेषराज भण्डारीले अध्यक्ष गिरीलाई आजै हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा झापा गोल्डकपको लोगो अंकित टिसर्ट पनि सार्वजनिक गरिएको थियो।

पत्रकारहरु रमेश समदर्शी,प्रेम आर्चाय,पुष्प बराल,केशव राज भण्डारी,गणेशमान मुखिया,तिलक योन्जन लगायतले टिकट बिक्री, सुरक्षा योजना र व्यवस्थापन पक्ष लगायत विविध विषयमा जिज्ञाशा राखेका थिए।

सो सम्बन्धि उत्तर झापा गोल्डकपकाअध्यक्ष केदार गिरी, महासचिव बुद्ध भूषण योन्जन र वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेलले दिनुभएको थियो।

कार्यक्रममा झापा फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, मेची आँखा अस्पताल झापाका अध्यक्ष जला कुमार गुरुङ,नेपाल पत्रकार महासंघका अध्यक्ष एकराज गिरी लगायतको उपस्थिति रहेको थियो।

प्रायोजकको तर्फबाट एक्सिट्रिम ड्रिंक्सका कन्ट्री मेनेजर पवन श्रेष्ठले मन्तव्य राख्नुभएको थियो र ‘एक्सिम ड्रिंक्स ओपन गेट टुगेदर’ समेत गरिएको थियो।

कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेलले गर्दै झापा गोल्डकपलाई प्रत्येक झापालीले चाडको रूपमा मनाइरहेको जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन केशव भट्टराईले गर्नुभएको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति