बिर्तामोडमा झापा–२ केन्द्रित उपलब्धि र योजना सम्बन्धी अन्तरक्रिया सम्पन्न
झापा पौष,२९
सभामुख देवराज घिमिरेको आयोजनामा आज झापाको बिर्तामोड नगरपालिका परिसरमा झापा जिल्ला निर्वाचन क्षेत्र नं. २ केन्द्रित उपलब्धी र योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी तथा जिल्लाका विशिष्ट व्यक्तित्वहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कोशी प्रदेश खानेपानी तथा सिंचाई मन्त्री चिन्तन पाठक, बिर्तामोड नगरपालिका मेयर पवित्रा महतरा प्रसाई, उपमेयर नगेन्द्र संग्रौला, पूर्व कोशी प्रदेश राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटी, पूर्व सांसद प्रेम गिरी, पूर्व झापा जिल्ला समन्वय सभापति सोमनाथ पोर्तेल, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुबास भट्टराई, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, सदस्य राजकुमार ओली, झापा उपाध्यक्ष सुब्रत न्यौपाने, सचिव प्रदिप परियार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सभामुख घिमिरेले आफू २०७९ साल मंसिर ४ गते सम्पन्न निर्वाचनबाट संसदमा निर्वाचित भई माघ ५ गतेदेखि सभामुख पदमा पदबहाली गरेको जानकारी दिँदै पाँच वटा फरक–फरक सरकारसँग सहकार्य गर्दै आएको बताए। उनले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका कारण संविधान नै ‘लिक’बाट बाहिर गएको अवस्था सिर्जना भई देश संकटमा परेको तितो अनुभव पनि सुनाए।
सभामुख घिमिरेले आफ्नो कार्यकाल आगामी माघ ५ गते सकिने उल्लेख गर्दै, निर्वाचन नभएमा सभामुख पदको भविष्य के हुने भन्ने विषयमा हालसम्म स्पष्टता नरहेको बताए। सांसद पुनःस्थापनाको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले चाँडो निकास निस्कने अपेक्षा व्यक्त गर्दै संसद पुनःस्थापना नै वर्तमान अवस्थामा सर्वहितकारी हुने धारणा राखे। पाँच वर्षका लागि सभामुखमा चयन भए पनि तीन वर्षको छोटो अवधिमा देश विकासका लागि सधैं सक्रिय रहेको उनले बताए।
झापा क्षेत्र नं. २ को सन्दर्भमा हालसम्म संघीय सरकारबाट कुल ३२३ वटा योजना परेको र ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी उनले गराए। क्षेत्रका महत्वपूर्ण पूर्वाधार योजनाअन्तर्गत घैलाडुब्बा–चम्पापुर पुल, शनिश्चरे–खुदुनाबारी पुल निर्माण, ७६ किलोमिटर सडक कालोपत्रे, विभिन्न खानेपानी योजना सञ्चालन, विद्यालय भवन निर्माण तथा सिंचाई योजना सम्पन्न भएको बताए।
त्यसैगरी तटबन्धन क्षेत्रमा उल्लेख्य कार्य, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति, सामुदायिक भवन निर्माण, जेष्ठ नागरिक सम्मानमा प्राथमिकता तथा शोकमा परेका परिवारप्रति समवेदना प्रकट गर्न आफू सधैं लागिपरेको सभामुख घिमिरेले बताए।
कार्यक्रममा पत्रकारहरू इन्द्रसिंह राजवंशी,उमाकान्त खनाल,प्रदिप परियार, सुब्रत न्यौपाने,गोपाल काफ्ले,राजकुमार ओली,धर्मेन्द्र भट्टराईलगायतले समसामयिक विषयमा जिज्ञासा राखेका थिए, जसको सभामुख घिमिरेले स्पष्ट र सटिक उत्तर दिएका थिए।
कार्यक्रमका क्रममा केही दिनअघि भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना हुँदा ढोका फोडेर ५१ यात्रुको ज्यान बचाउन सफल उमेश मोक्तानलाई सभामुख घिमिरेले दोसल्ला ओढाई सम्मान गरे। सो अवसरमा मोक्तानले दुर्घटनाका क्षणमा भोगेको अनुभव पनि सुनाएका थिए।
कार्यक्रममा बिर्तामोड नगरपालिका मेयर पवित्रा महतरा प्रसाईले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन सभामुखका स्वकीय सचिव केशवराज ढुंगेलले गरेका थिए।

Comments
Post a Comment