बिष्णु भगवती स्मार्ट स्कूलद्वारा अभिभावक शिक्षा कार्यक्रमको आयोजना

 


३० फागुन,बिर्तामोड 
 बिष्णु भगवती स्मार्ट स्कूल बिर्तामोड–१०,बिराटपोखरको आयोजनामा अभिभावकहरुलाई प्रशिक्षण स्वरूप बालबालिकाको समग्र विकासका लागि “एक दिवशिय अभिभावक शिक्षा कार्यक्रम–२०८२” आज सम्पन्न भएको छ। बिर्तामोड–३ स्थित काजी ब्याङ्गकेवट हलमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीका अभिभावक, अतिथि तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल पुण्य प्रसाद उप्रेतीको सभापतित्व तथा झापा जिल्ला प्याब्सनका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिर्तामोड–१० का वडा अध्यक्ष दुर्योधन गुरुङ्गको विशेष आतिथ्यता रहेको थियो। प्रमुख अतिथि पाठकले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा राष्ट्रप्रति समर्पित राष्ट्रिय ज्ञान बजाइएको थियो।

कार्यक्रममा शैक्षिक परामर्शदाता मिनु सुबेदी र संझना खड्काले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अभिभावकले अपनाउनुपर्ने व्यवहारिक शिक्षा, व्यवस्थापकीय शिक्षा, वित्तीय साक्षरता, खेलकुद, अध्ययन, कुराकानी, प्रशंसा, हौसला, सकारात्मक सहयोग, बाल सिकाइमा अभिभावकको भूमिका तथा स्वास्थ्यप्रति सचेतना जस्ता विषयमा केन्द्रित रही सकारात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो। सो क्रममा अभिभावक कृष्ण उप्रेती र हेमन्ता दाहालले पनि आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

त्यसैगरी कार्यक्रममा अभिभावकहरुलाई “म्यूजिकल बल क्याचिङ्ग” खेल खेलाइँदै आफ्ना बालबालिकाको बानी–व्यवहार सम्बन्धी जिज्ञासा तथा प्रश्न राख्ने अवसर प्रदान गरिएको थियो। अभिभावकहरुले उठाएका सटिक प्रश्न तथा समस्याहरूको समाधान प्रशिक्षक मिनु सुबेदीले सहज ढंगले प्रशिक्षणमार्फत स्पष्ट पार्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि पाठकले आज शिक्षा क्षेत्र डिजिटल युगमा प्रवेश गरिसकेको उदाहरण प्रस्तुत गर्दै पब्जी, फ्रिफायर जस्ता हानिकारक एपहरूले विद्यार्थीलाई नकारात्मकतातर्फ लैजाँदा कतिपय एपहरू भने च्याट जिपिटी जस्ता माध्यमबाट विद्यार्थीले धेरै कुरा सिक्ने अवसर पाएको धारणा व्यक्त गर्नुभयो। उहाँले हानिकारक एपलाई विस्थापित गर्दै विद्यार्थीलाई लाभकारी एपको प्रयोगतर्फ प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रमका अवसरमा प्रमुख अतिथि पाठक र वडा अध्यक्ष गुरुङ्गलाई विद्यालयको तर्फबाट संस्थापक प्रिन्सिपल पुण्य प्रसाद उप्रेती तथा व्यवस्थापन समितिका अध्यक्ष विष्णु दाहाल उप्रेतीले मायाको चिनो प्रदान गर्नुभएको थियो।

कार्यक्रममा सहभागी अभिभावकहरूले यस्ता प्रकारका प्रशिक्षणले आफ्नो क्षमता र आत्मविश्वास बढेको अनुभव व्यक्त गरेका थिए। सो अवसरमा शिक्षक अनु भट्टराईले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल तथा कार्यक्रमका सभापति पुण्य प्रसाद उप्रेतीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रशिक्षक, अभिभावक, शिक्षक तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सरकारले निजी विद्यालयहरूको हकहित र विकासका लागि थप आवश्यक सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको स्वागत तथा औचित्यमाथि शिक्षक दिनेशराज शर्माले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दाहाल उप्रेतीले गर्नुभएको थियो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति