सिद्धिबिनायक गणेश मन्दिरमा मूर्ति प्रतिस्थापन,धार्मिक उल्लास



३ चैत्र,बिर्तामोड

 झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नं. १० स्थित सिद्धिबिनायक टोल विकास संस्थामा नवनिर्मित गणेश पाञ्चायन मन्दिरमा आज विशेष धार्मिक कार्यक्रमबीच श्री पाञ्चायन गणेश भगवानको मूर्ति विधिवत रूपमा प्रतिस्थापन गरिएको छ। मन्दिर निर्माण समिति र स्थानीय सिद्धिबिनायक कृतन मण्डलीको संयुक्त आयोजनामा सम्पन्न त्रिदिवसीय धार्मिक कार्यक्रमको तेस्रो दिन शुभ साइत पारेर मूर्ति प्रतिस्थापन गरिएको हो।

स्थानीय समाजसेवी स्व. महेश्वर गौतमको परिवारले दानस्वरूप प्रदान गर्नुभएको ७ धूर जग्गामा २०८१ साल जेठ ३ गतेदेखि पाञ्चायन गणेश मन्दिर निर्माण कार्य सुरु गरिएको थियो। सोही स्थानमा मन्दिरसँगै सामुदायिक सभाहल समेत निर्माण सम्पन्न भएपछि आज विशेष पूजा–अर्चना गरी भगवान पाञ्चायन गणेशको मूर्ति प्रतिस्थापन गरिएको मूर्ति प्रतिस्थापन समिति तथा स्थानीय सिद्धिबिनायक कृतन मण्डलीका अध्यक्ष पदम प्रसाद पाठकले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रतिस्थापित मूर्तिको लागत मूल्य ९८ हजार ११७ रुपैयाँ रहेको छ भने मूर्ति २७ किलो पित्तलबाट निर्माण गरिएको हो। मूर्तिमा करिब दुई फिट अग्लो गणेश भगवानको मूर्ति सहित अन्य चार वटा मूर्तिहरू समेत समावेश गरिएको उहाँले बताउनुभयो। मूर्ति स्थापना कार्यक्रमको कुल खर्च करिब २ लाख ५० हजार रुपैयाँ पुगेको उहाँको भनाइ छ।

त्यसैगरी समितिकी उपाध्यक्ष गीता चापागाईँले मूर्ति स्थापना भएपछि स्थानीयवासीमा धार्मिक उत्साह र खुसी छाएको बताउनुभयो। “मन्दिरमा भगवानको मूर्ति स्थापना भएसँगै टोलका सबै बासिन्दा अत्यन्त खुसी र उत्साहित भएका छन्,” उहाँले भन्नुभयो।

मन्दिर निर्माण समितिका अध्यक्ष गणेश प्रसाद मैनालीले मन्दिर तथा सभाहल निर्माण कार्यमा हालसम्म करिब १० लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिँदै सो सम्पूर्ण रकम स्थानीयवासीको सहयोग, दान तथा सहभागिताबाट जुटाइएको बताउनुभयो।

त्रिदिवसीय धार्मिक कार्यक्रमअन्तर्गत पहिलो दिन मूर्ति सयन कार्यक्रम सम्पन्न गरिएको थियो भने दोस्रो दिन मन्दिर परिसरबाट सुरु भएको कलश यात्रा तेलकानी पोखरी, विराटपोखरी, गरमकाली मन्दिर तथा मनकामना काली मन्दिर परिसरको परिक्रमा गराइएको आयोजकले जनाएको छ। तेस्रो तथा अन्तिम दिन विधिपूर्वक पूजा–अर्चना गरी भगवान पाञ्चायन गणेशको मूर्ति मन्दिरमा प्रतिस्थापन गरिएको हो।

मूर्ति प्रतिस्थापन कार्यक्रम पण्डित होमनाथ घिमिरे, चिन्तामणि पोखरेल र कमल खनालले वैदिक मन्त्रोच्चारणसहित विधिपूर्वक सम्पन्न गराउनुभएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी, विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई थप भव्य र श्रद्धामय बनाएको थियो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति