झापामा कियाचुको १२औं राष्ट्रिय महाधिवेशन चैत १२–१४ गते भद्रपुर चन्द्रगडीमा हुने
झापा चैत्र,१०
कियाचु संघीय महासचिव निरन्ती तुम्बापोको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संघीय सदस्य अमृत योङ्गहाङ्गले महाधिवेशन कियाचु केन्द्रीय समितिको आयोजना, कियाचु जिल्ला कार्य समिति झापाको व्यवस्थापन तथा कियाचु भद्रपुर नगर समितिको सह–व्यवस्थापनमा सम्पन्न हुने जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशनको उद्घाटन चैत १२ गते कियाचुका संस्थापक उपाध्यक्ष, पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एवं वर्तमान सल्लाहकार रकम चेम्जोङ्गको प्रमुख आतिथ्यतामा हुनेछ।
महाधिवेशनअन्तर्गत चैत १३ र १४ गते चन्द्रगढीस्थित होटल डेग्लोको सभाहलमा सांस्कृतिक,सामाजिक तथा संगठनात्मक विषयमा गहन छलफल गरिनेछ। साथै, संगठनको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुनुका साथै आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरिने कार्यक्रम तय गरिएको छ। महाधिवेशनमा किरात समुदायसँग सम्बन्धित भाषा, संस्कृति, परम्परा र पहिचानका सवालमा विशेष बहस हुने जनाइएको छ।
त्यसैगरी, प्रदेश नं. १ लाई लिम्बुवान–किरात नामाकरण गर्ने, ‘नो कोशी प्रदेश’ घोषणा गर्ने, पाथिभरामा केबलकार नबनाउने विषय, लिम्बु भाषालाई राष्ट्रिय भाषाको मान्यता दिलाउने तथा जातीय विभेदविरुद्ध संघर्षलाई निरन्तरता दिने जस्ता महत्वपूर्ण एजेन्डामाथि समेत गम्भीर छलफल गरिने आयोजकले जनाएको छ।
महाधिवेशनमा देशभरका पूर्वका नौ जिल्ला, उपत्यकाका तीन जिल्ला, पोखरा तथा विदेशबाट समेत प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रम चन्द्रगढीस्थित रंगशाला अगाडि खुला चौरमा आयोजना गरिनेछ भने लिम्बु समुदायको बृहत सांस्कृतिक झाँकीसहितको र्यालीले चन्द्रगढी बजार परिक्रमा गर्ने कार्यक्रम समेत तय गरिएको छ।
यसैबीच, संघीय महासचिव निरन्ती तुम्बापोले नो कोशी प्रदेश आन्दोलनका शहीद लाजेहाङ लिम्बुको स्मृति दिवसको सन्दर्भ पारेर आयोजित उक्त पत्रकार सम्मेलनमा शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको सपना साकार पार्न सम्पूर्ण समुदाय तथा लिम्बु अग्रजहरूलाई एकताबद्ध हुन आह्वान गर्नुभयो।
पत्रकार सम्मेलनमा पत्रकारहरू इन्द्रसिंह राजवंशी, अर्जुन राजवंशी, गणेशमान मुखिया लगायतले महाधिवेशनका विविध समसामयिक विषयमा जिज्ञासा राखेका थिए। सो जिज्ञासाको उत्तर संघीय महासचिव तुम्बापो र संघीय सदस्य अमृत योङ्गहाङ्गले स्पष्ट पार्नुभएको थियो।
कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले सञ्चालन गर्नुभएको कार्यक्रममा संघीय सदस्य चन्द्रकला अङ्गदाम्बे, जिल्ला सचिव भिममाया नेम्बाङ, भद्रपुर नगर शाखा अध्यक्ष मूना इजम, बिर्तामोड नगर अध्यक्ष हिमालय प्रसाद कन्दङवा, जिल्ला सदस्य योगेन्द्र कुमार कुरुम्बाङ, हल्दीबारी अध्यक्ष सुमन नेम्बाङ, मेचीनगर अध्यक्ष वीरबहादुर बेघा लगायतका प्रतिनिधि, बुद्धिजीवी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
Comments
Post a Comment