बिर्तामोड-९ मा सुभाङ्गे चौतारो निर्माण,वैदिक विधिअनुसार उद्घाटन


१७ चैत्र,झापा

 झापा — बिर्तामोड–९ कञ्चनटोलस्थित सुभाङ्गे चोकमा स्थानीय समाजसेवी यज्ञराज श्रेष्ठको परिवारले निजि खर्चमा आफ्ना दिवंगत पिता स्व. पूर्णबहादुर श्रेष्ठ तथा माता स्व. टिकामाया श्रेष्ठको पावन स्मृतिमा एक आकर्षक तथा उपयोगी चौतारो निर्माण गरी सार्वजनिक गर्नुभएको छ। पाँचथरको सुभाङ्गमा रहेको पिताको जन्मथलोको सम्झनालाई सजिव राख्दै यात्रुहरूलाई विश्रामस्थल प्रदान गर्ने उद्देश्यले फलामे ट्रससहितको आधुनिक शैलीमा चौतारो निर्माण गरिएको हो।

स्व. पूर्णबहादुर श्रेष्ठको वार्षिक पुण्यतिथिको अवसर पारेर चैत्र १६ गते आयोजित एक विशेष कार्यक्रमबीच नवनिर्मित चौतारोको वैदिक परम्पराअनुसार विधिवत उद्घाटन तथा सार्वजनिक गरिएको हो। उल्लेखनीय छ कि स्व. श्रेष्ठको गत वर्ष १०२ वर्षको उमेरमा निधन भएको थियो, जसले यस कार्यलाई अझ भावनात्मक र स्मरणीय बनाएको छ।

चौतारो निर्माणकर्ता यज्ञराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाँचथर सुभाङ्ग झापा एकता मञ्चका अध्यक्ष ओमभक्त सेढाई प्रमुख अतिथिका रूपमा उपस्थित भई रिबन काटेर चौतारोको उद्घाटन गर्नुभयो। कार्यक्रममा गुरु पुरोहितद्वय दमनप्रसाद रिमाल र मनोज पौड्यालले स्वस्तीवाचन गरी धार्मिक वातावरण सिर्जना गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तथा चौतारो निर्माता यज्ञराज श्रेष्ठले बाटोमा हिँड्ने यात्रुहरूको थकान मेट्न सहज विश्रामस्थलको रूपमा चौतारो निर्माण गरिएको बताउँदै आफ्ना पिताको जन्मथलो सुभाङ्गप्रतिको सम्मान र सम्झनालाई जोगाइराख्ने उद्देश्य पनि रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी प्रमुख अतिथि ओमभक्त सेढाईले यज्ञराज श्रेष्ठले आफ्ना पिताको सपना साकार पार्दै समाजका लागि प्रेरणादायी कार्य गरेको उल्लेख गर्दै यस कार्यप्रति सबैले गर्व गर्नुपर्ने बताउनुभयो। साथै उहाँले चौतारो निर्माणकर्ता परिवारप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा पाँचथर सुभाङ्ग झापा एकता मञ्चका उपाध्यक्ष भद्रकुमार लामिछाने, कोषाध्यक्ष टिकराम खनाल,सल्लाहकार सदस्य हरिप्रसाद ओझा,सदस्यहरू कृष्णकुमार ओझा,पुष्पराज खनाल, घनश्याम अधिकारी,गोपाल उप्रेती लगायत चौतारो निर्माणकर्ता परिवार तथा विभिन्न बौद्धिक एवं सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा यज्ञराज श्रेष्ठले दिवंगत पिताको ४५ औं पुण्यतिथिबाट चौतारो निर्माण कार्य प्रारम्भ गरी वार्षिक पुण्यतिथिको अवसर पारेर उद्घाटन गरिएको जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन पाँचथर सुभाङ्ग झापा एकता मञ्चका सचिव हरिप्रसाद सुवेदीले गर्नुभएको थियो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति