अग्रज पत्रकारलाई सम्मान गर्दै “अग्रजलाई सुनौं” कार्यक्रम सम्पन्न
२८ चैत्र,झापा
१७ वर्षको कलिलो उमेरबाट पत्रकारिता यात्रा सुरु गर्नुभएका काजीले भारतका विभिन्न स्थानबाट आफ्नो पेशागत जीवनको शुरुआत गर्नुभएको थियो। हाल ८२ वर्षको उमेर पुग्दा समेत झापाबाट सक्रिय रूपमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहनु उहाँको समर्पण र लगनशीलताको उदाहरण बनेको छ।
कार्यक्रममा बोल्दै अग्रज पत्रकार काजीले आफ्नो लामो पत्रकारिता जीवनका तिता–मिठा अनुभवहरू करिब एक घण्टा समय लिएर सहभागीहरू माझ साझा गर्नुभयो। उहाँले पत्रकारिताको पुरानो समय, संघर्षका दिनहरू तथा अहिलेको पत्रकारितामा आएको परिवर्तनबारे महत्वपूर्ण विचार राख्नुभयो।
कार्यक्रमका क्रममा पत्रकार मोहनकाजीले अग्रज पत्रकार नकुल काजीसँग बिताएका अनुभवहरूको स्मरण गर्दै उहाँबाट प्राप्त प्रेरणाले आफ्नो यात्रामा ठूलो प्रभाव पारेको उल्लेख गर्नुभयो।
कार्यक्रमका अध्यक्ष प्रदिप परियारले “अग्रजलाई सुनौं” कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै यस्ता कार्यक्रमले पुराना अनुभव र नयाँ पुस्ताबीच सेतु निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो।
यसै अवसरमा अग्रज पत्रकार नकुल काजीलाई उहाँको दीर्घकालीन योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो। अध्यक्ष प्रदिप परियारले उहाँलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा झापाका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रेस चौतारी झापाका सचिव युवराज आचार्यले गर्नुभएको थियो।


Comments
Post a Comment