झापा नेत्रहीन संघद्वारा ब्रेल अग्रदूत बोगटीको ८७औँ जन्मजयन्ती सम्पन्न


३० चैत्र,झापा

 झापा नेत्रहीन संघको आयोजनामा तथा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश र बिर्तामोड नगरपालिका–३ को आर्थिक सहयोगमा नेपालमा ब्रेल लिपि भित्र्याउने अग्रदूत जङ्ग बहादुर बोगटीको ८७औँ जन्मजयन्तीको अवसर पारेर ३ महिने संगीत तालिम सञ्चालन तथा नववर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम औपचारिक र गरिमामय वातावरणमा आयोजना गरिएको थियो। प्रमुख अतिथि संग्रौलाले ब्यानर वाचन तथा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने कार्यक्रममा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै राष्ट्रका लागि योगदान पुर्‍याउने शहीदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा संघका ज्येष्ठ सदस्य रेडीलाल ताजपुरियालाई दोसल्ला ओढाएर तथा नगद रु. २,५०० प्रदान गरी सम्मान गरिएको थियो। उक्त सम्मान प्रमुख अतिथि संग्रौलाले नै हस्तान्तरण गर्नुभएको थियो, जसले कार्यक्रममा थप उत्साह र प्रेरणा थपेको थियो।

त्यसैगरी, संघका १० जना महिला तथा १० जना पुरुष सदस्यहरूलाई सेतो छडी तथा ब्रेल लिपिसम्बन्धी सामग्री वितरण गरिएको थियो। संघका सल्लाहकार प्रेमप्रकाश सिटौलाले उक्त सामग्री सदस्यहरूलाई हस्तान्तरण गर्नुभएको थियो, जसले नेत्रहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको तर्फबाट रिजनल चेयरपर्सन पार्बता गिरीका छोरा सन्दीप गिरी तथा क्लब सदस्य शोभा प्रधानको जन्मदिनको अवसर पारेर संघका ५० जना सदस्यहरूलाई झूल वितरण गरिएको थियो। यस कार्यले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। साथै, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालले संघलाई नगद रु. ५,००० आर्थिक सहयोग प्रदान गर्नुभएको थियो।

कार्यक्रममा कियाचु बिर्तामोडकी सचिव भिममाया नेम्बाङले उपस्थित अतिथिहरूलाई सिलाम साक्मा लगाएर स्वागत गर्नुभएको थियो भने संघको तर्फबाट झूल वितरणमा सहयोग पुर्‍याउने लायन्स क्लब बिर्तामोडका अध्यक्ष यसोदा उप्रेतीसहित सम्पूर्ण टोलीलाई अध्यक्ष होमनाथ राजबंशीले रुद्राक्षको माला लगाएर सम्मानपूर्वक स्वागत गर्नुभएको थियो।

कार्यक्रममा कियाचु बिर्तामोड नगर अध्यक्ष हिमालय प्रसाद कन्दङ्गवा, सल्लाहकार प्रेमप्रकाश सिटौला, लायन्स क्लब बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष यसोदा उप्रेती, पूर्वाञ्चल दैनिकका ब्यबस्थापक चन्द्रकान्त ढकाल लगायत वक्ताहरूले नववर्ष २०८३ को शुभकामना व्यक्त गर्दै संघको उज्ज्वल भविष्य र निरन्तर प्रगतिको कामना गर्नुभएको थियो।

सो अवसरमा प्रमुख अतिथि संग्रौलाले बिर्तामोड नगरपालिकाको तर्फबाट झापा नेत्रहीन संघलाई आगामी दिनहरूमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यक्ष होमनाथ राजबंशीले नेत्रहीन तथा अपांगता भएका व्यक्तिहरूलाई राज्यले समान अवसर प्रदान गर्नुपर्ने आवश्यकता औंल्याउँदै समावेशी समाज निर्माणमा सबै पक्षको भूमिका आवश्यक रहेको धारणा राख्नुभयो।

संघका सल्लाहकार दोर्णाचार्य निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको उक्त कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष उत्तम खतिवडाले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका सचिव दिलकुमार राजबंशीले गर्नुभएको थियो।

कार्यक्रमले नेत्रहीन समुदायप्रति समाजको संवेदनशीलता अभिवृद्धि गर्नुका साथै उनीहरूको सशक्तिकरणतर्फ सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति