बिर्तामोडमा तमू भाषा प्रशिक्षण सम्पन्न

 


११ बैशाख,बिर्तामोड

तमू ह्युल छोज धीं गुरुङ्ग समाज नगर समिति बिर्तामोड, झापाको आयोजना तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सानेपा, ललितपुरको आर्थिक सहयोगमा सञ्चालित “तमु गुरुङ्ग मातृभाषा शिक्षा प्रवर्द्धन तथा प्रशिक्षण कार्यक्रम” भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। गत बैशाख ४ गतेदेखि १० गतेसम्म बिर्तामोड–३ स्थित तमु सामुदायिक भवनमा सञ्चालन गरिएको उक्त कार्यक्रम आज एक विशेष समारोहका बीच समापन गरिएको हो।

समाजका नगर समिति अध्यक्ष कुमार गुरुङ्गको अध्यक्षतामा सम्पन्न समापन समारोहमा समाजका केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ्ग प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिहरूमा समाजका कोशी प्रदेश प्रमुख आनन्द गुरुङ्ग, केन्द्रीय सदस्य टिकाराम गुरुङ्ग, झापा जिल्ला अध्यक्ष जगत गुरुङ्ग, झापा जिल्ला महिला अध्यक्ष दुर्गा गुरुङ्गलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात राष्ट्रिय गानसँगै गुरुङ्ग राष्ट्रिय गान बजाएर गरिएको थियो, जसले कार्यक्रममा थप गौरवमय वातावरण सिर्जना गरेको थियो। प्रशिक्षण अवधिभर २५ जना सहभागीलाई मातृभाषा सम्बन्धी गहन ज्ञान तथा सीप प्रदान गरिएको प्रशिक्षक धनबहादुर गुरुङ्गले जानकारी दिनुभयो। उहाँका अनुसार यस प्रकारका कार्यक्रमले मातृभाषा संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै कोशी प्रदेश प्रमुख आनन्द गुरुङ्गले गुरुङ्ग मातृभाषाको महत्व, यसको संरक्षणको आवश्यकता तथा वर्तमान अवस्थाबारे विस्तृत चर्चा गर्नुभयो। प्रमुख अतिथि केशरमान गुरुङ्गले यस्ता प्रशिक्षण कार्यक्रमहरूले सहभागीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै भाषा र संस्कृतिप्रतिको अपनत्व बढाउने धारणा व्यक्त गर्नुभयो।

समारोहका अवसरमा प्रशिक्षक धनबहादुर गुरुङ्ग तथा प्रमुख अतिथि केशरमान गुरुङ्गलाई अध्यक्ष कुमार गुरुङ्गलगायतले मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। साथै, भाषा प्रशिक्षणमा सहभागीहरूको तर्फबाट दुर्गा गुरुङ्गले मन्तव्य राख्दै कार्यक्रमबाट आफूले मातृभाषासम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेको अनुभव सुनाउनुभयो।

कार्यक्रमका क्रममा सहभागीहरूले सामूहिक नृत्य प्रस्तुत गरी वातावरणलाई झन् हर्षोल्लासपूर्ण बनाएका थिए। समाजका जिल्ला उपाध्यक्ष भगीमान गुरुङ्गले उपस्थित सबैलाई स्वागत गर्नुभएको उक्त कार्यक्रममा जिल्ला सचिव लिला गुरुङ्गले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष कुमार गुरुङ्गले प्रशिक्षक, प्रशिक्षार्थी तथा सम्पूर्ण उपस्थितप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्ने संस्थाप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले भाषा, संस्कृति र पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति