नमो बौद्ध गुम्बा बिर्तामोडमा २५७०औँ बुद्धजयन्ती भव्य रूपमा सम्पन्न
१८ बैशाख,बिर्तामोड
गुम्बा अध्यक्ष हस्त बहादुर तामाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका पूर्व खानेपानी,सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात राष्ट्रियगानसँगै तामाङ्ग राष्ट्रिय गान बजाएर गरिएको थियो। प्रमुख अतिथि कार्कीले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। उद्घाटन सत्रमा कलाकार खुशी तामाङ्गले स्वागत नृत्य प्रस्तुत गर्दै उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो।
कार्यक्रमका क्रममा गुम्बाका महासचिव गणेश तामाङ्गले गुम्बाले हालसम्म सञ्चालन गरेका गतिविधि तथा भावी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो। उहाँले गुम्बामा सहयोग गर्नुहुने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
यसै अवसरमा नेपाल तामाङ्ग घेदुङकी कार्यवाहक अध्यक्ष फूलमाया तामाङ्गले बुद्धजयन्तीको शुभकामना व्यक्त गर्दै बालेन सरकारले विकल्पविनै देशमा रहेको गुम्बामाथि डोजर चलाएको विषयप्रति चिन्ता व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको मध्यभागमा कलाकार किरण घिसिङ्ग र उहाँका साथीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गर्दै पुनः उपस्थित दर्शकहरूको मन जितेका थिए।
शुभकामना मन्तव्य राख्ने क्रममा समाजसेवी देवराज कार्कीले भगवान बुद्धका शान्ति,करुणा र अहिंसाका सन्देशले विश्वभर शान्ति फैलाउन महत्वपूर्ण योगदान पुर्याएको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले नगरपालिकाको तर्फबाट आगामी दिनमा नमो बौद्ध गुम्बालाई थप सहयोग प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख अतिथि कार्कीले बुद्धजयन्तीको शुभकामना व्यक्त गर्दै वर्तमान सरकारको राजनीतिक अस्थिरताले देश गहिरो बेथितिमा फसेको धारणा राख्नुभएको थियो।
कार्यक्रमका अध्यक्ष हस्त बहादुर तामाङ्गले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, शुभेच्छुक तथा उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।
दुईदिवसीय कार्यक्रमअन्तर्गत गत १७ गते भगवान बुद्धको लाकुलाई गुम्बाको भुईंतल्लाबाट नवनिर्मित पहिलो तल्लामा स्थानान्तरण गरिएको जानकारी गराईएको थियो। बुद्धजयन्तीको अवसरमा आज बिहान गुम्बाका पूजारी राङसिंह घिसिङद्वारा विधिवत पाठपूजा सम्पन्न गरिएको थियो। सोही अवसरमा गुम्बाबाट निकालिएको शान्ति र्यालीले बिर्तामोड नगरका विभिन्न क्षेत्र परिक्रमा गर्दै बुद्धका शान्ति र सद्भावका सन्देश फैलाईएको थियो।
कार्यक्रममा नमो बौद्ध गुम्बाका उपाध्यक्ष हेमकला भण्डारी योन्जनले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव टिकाराज घिसिङ्ग र नेपाल तामाङ घेदुङ बिर्तामोडकी कोषाध्यक्ष समिक्षा तामाङ्गले संयुक्त रूपमा गर्नुभएको थियो।
Comments
Post a Comment