अपांगता तथा आदिवासी अधिकारबारे शिवसताक्षीमा चेतनामूलक कार्यक्रम
'
२८ बैशाख,झापा
आदिवासी जनजाति नेत्रहिन संघ झापाका अध्यक्ष भोजाकुमार तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिवसताक्षी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा संघका सल्लाहकार लक्ष्मी प्रसाद चेम्जोङको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि चेम्जोङले कार्यक्रमको ब्यानर वाचन गर्दै औपचारिक उद्घाटन गर्नुभएको थियो। उद्घाटन सत्रसँगै राष्ट्रियताप्रति समर्पित राष्ट्रिय गान गाइएको थियो भने ज्ञात–अज्ञात सहिदहरूप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा समाजसेवी भिमबहादुर खवास, शिवसताक्षी–११ अपांगता स्वावलम्बन संस्थाका अध्यक्ष विक्रम नेम्बाङ, प्राज्ञ सुमित्रा बाङ्देल चेली प्रशिक्षक राष्ट्रिय अपांग महासंघ बरिष्ट उपाध्यक्ष रामबहादुर कार्की तथा आदिवासी अभियन्ता प्रेमराज घिसिङले यस्ता लाभदायी तथा चेतनामूलक कार्यक्रमको आयोजना गरेकोमा आयोजक संस्थाको प्रशंसा गर्नुभएको थियो। उहाँहरूले आर्थिक सहयोग गर्ने वडा कार्यालय, आयोजक संस्था तथा कार्यक्रममा सहभागी सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दै आदिवासी जनजाति तथा अपांगता अधिकारको विषयमा आफ्ना धारणा समेत व्यक्त गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चेम्जोङले संघका सम्पूर्ण सदस्यहरूलाई आगामी दिनमा पनि सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो। उहाँले वडाको तर्फबाट अपांगता भएका आदिवासी जनजातिहरुको हक, हित र अधिकार सुनिश्चित गर्न तथा उनीहरूको क्षमता विकासका लागि आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्न आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष भोजकुमार तामाङले कार्यक्रम सफल बनाउन आर्थिक सहयोग प्रदान गर्ने वडा नं. १ प्रति विशेष आभार प्रकट गर्नुभयो। उहाँले आगामी नयाँ आर्थिक वर्षमा अन्य वडाहरूले समेत यस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरी सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो। साथै यस्ता कार्यक्रमले समुदायमा चेतना अभिवृद्धि गर्नुका साथै अधिकारप्रति जागरूकता बढाउने विश्वास व्यक्त गर्नुभयो।
सचेतनामूलक कार्यक्रमका प्रशिक्षक राष्ट्रिय अपांग महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्कीले सहभागीहरूलाई अपांगता अधिकार ऐन २०७४, नियमावली २०७७ तथा यूएनसीआरपीडी महासन्धि सम्बन्धी विस्तृत प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले अपांगता भएका व्यक्तिहरुको अधिकार, अवसर तथा कानुनी संरक्षणका विषयमा महत्वपूर्ण जानकारी दिँदै सचेतना अभिवृद्धिमा जोड दिनुभयो।
त्यसैगरी, कार्यक्रमका अर्का प्रशिक्षक तथा आदिवासी अभियन्ता प्रेमराज घिसिङले आदिवासी जनजाति अधिकार सम्बन्धी प्रशिक्षण दिनुका साथै समुदायको अधिकार संरक्षण, पहिचान र राज्यबाट प्राप्त हुने सुविधाबारे विस्तृत जानकारी गराउनुभएको थियो।
संघका पूर्व उपाध्यक्ष शरण सुब्बाले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संघका सचिव अनिल मुखियाले गर्नुभएको थियो। कार्यक्रममा अपांगता भएका व्यक्ति, सर्वसाधारण तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले आदिवासी जनजाति तथा अपांगता भएका व्यक्तिहरुको अधिकारबारे चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

Comments
Post a Comment