बिर्तामोड–१० मा बोल्ने कला प्रशिक्षण


 जेठ ७ झापा, 

बिर्तामोड । ओरेन्ज एक्साभेटर मिडिया प्रा.लि. बिर्तामोड–१० को आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. १० को आर्थिक सहयोगमा आदिबासी जनजातिहरुलाई लक्षित गर्दै दुई दिवशीय उद्घोषण तथा बोल्ने कला प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ। व्यक्तित्व विकास, सार्वजनिक प्रस्तुतीकरण क्षमता अभिवृद्धि तथा प्रभावकारी संवाद सीप विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रम बिर्तामोड–१० को सभा हलमा सञ्चालन भइरहेको हो।

कार्यक्रममा प्रशिक्षकको रुपमा बिराट एफएमका प्रबन्ध निर्देशक तथा चर्चित सञ्चारकर्मी लिला अनमोल रहनुभएको आयोजकले जनाएको छ।

ओरेन्ज एक्साभेटर मिडिया प्रा.लि.का संचालक सन्तोष बेघाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बिर्तामोड नगरपालिका वडा नं. १०  वडा सदस्य धनमाया श्रेष्ठको उपस्थिती रहेको थियो। प्रमुख अतिथि श्रेष्ठले कार्यक्रमको ब्यानर वाचन गर्दै औपचारिक उद्घाटन गर्नुभएको थियो भने कार्यक्रम राष्ट्रप्रति समर्पित राष्ट्रिय गान बजाएर सुरु गरिएको थियो।

कार्यक्रममा वडा सदस्य पृथ्वी बस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहभागीहरुलाई धैर्यतापूर्वक प्रशिक्षण लिएर व्यवहारिक ज्ञान हासिल गर्न आग्रह गर्नुभयो। उहाँले प्रशिक्षक लिला अनमोल अनुभवी तथा दक्ष प्रशिक्षक भएको उल्लेख गर्दै उहाँबाट सिक्नुपर्ने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान धेरै रहेको बताउनुभयो।

त्यसैगरी वडा सदस्य दिपिका शिवाले मानिसले जीवनभर सिकाइलाई व्यवहारमा उतार्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। आदिबासी जनजाति महासंघ बिर्तामोड–१० का अध्यक्ष सन्तोष राईले आदिबासी जनजाति समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

प्रमुख अतिथि धनमाया श्रेष्ठले बिर्तामोड–१० मा पहिलो पटक आदिबासी जनजातिलाई लक्षित गरी यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको बताउँदै यसबाट सहभागी सबैले भरपुर लाभ लिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा तामाङ धेदुङ बिर्तामोड–१० का अध्यक्ष राम योञ्जन, सैनिक बजार टोल विकास संस्थाका अध्यक्ष कविता घले, जर्मनडाँडा टोल विकास संस्था अध्यक्ष बिनिता जबेगु, उदयरत्न टोल विकास संस्था सचिव लोकेश कन्दङ्वा, समाजसेवी मनु मुखिया, रिमान ध्वज लोक्ताम, तुलसी सुबेदी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको औचित्यमाथि प्रकाश तथा उपस्थितलाई स्वागत गर्दै कार्यक्रमका सभापति सन्तोष बेघाले यो कार्यक्रम विशेषगरी आदिबासी जनजाति समुदायको क्षमता विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको जानकारी दिनु भएको थियो। साथै कार्यक्रम व्यवस्थापन तथा सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराउने बिर्तामोड नगरपालिका वडा नं. १० प्रति उहाँले विशेष आभार व्यक्त गर्नु भएको थियो।

प्रशिक्षक लिला अनमोलले आयोजक संस्था तथा आर्थिक सहयोग गर्ने निकायप्रति धन्यवाद ज्ञापन गर्दै आफूले जानेका विषयवस्तुहरू सहभागीहरुलाई प्रभावकारी ढंगले प्रशिक्षणमार्फत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रमको सञ्चालन ओरेन्ज मिडियाका निर्वतमान अध्यक्ष सुरेश थापा आले मगर (सर्जु संसार) ले गर्नुभएको थियो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन