झापा नेत्रहिन संघको आयोजनामा भएको तालिम सम्पन्न
२६ बैशाख,बिर्तामोड
अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले झापा नेत्रहिन संघको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा सञ्चालन गरिएको पाँचदिने व्यवसायिक सीपमूलक झोल साबुन,फिनेल र हार्पिक उत्पादन तालिम आज बिर्तामोडमा सम्पन्न भएको छ। गत बैशाख १७ गतेदेखि सञ्चालनमा आएको उक्त तालिमबाट संघका १० जना सदस्य प्रत्यक्ष रूपमा लाभान्वित भएको जनाईएको छ।
झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष सूर्य प्रसाद कन्दङ्गवा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। राष्ट्रियगानबाट सुरु गरिएको कार्यक्रममा संघका सल्लाहकार संयोजक दोर्णाचार्य निरौलाले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीलाई स्वागत गर्दै कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो।
शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि सूर्य प्रसाद कन्दङ्गवाले तालिममा सहभागी सम्पूर्णलाई बधाई तथा धन्यवाद व्यक्त गर्दै अपांगता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि र आयआर्जनका लागि वडा कार्यालयको तर्फबाट आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस्ता सीपमूलक तालिमले अपांगता भएका व्यक्तिहरूको आत्मविश्वास बढाउनुका साथै आर्थिक रूपमा सबल बन्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रमका सभापति होमनाथ राजबंशीले तालिममा सहभागी सदस्यहरूले उत्पादन गरेका झोल साबुन, फिनेल र हार्पिकजस्ता सामग्रीको उचित बजारीकरणमा सहयोग गरिदिन सबै सरोकारवालासँग आग्रह गर्नुभयो। उहाँले तालिम सञ्चालनमा आर्थिक तथा प्राविधिक सहयोग पुर्याउने संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले अपांगता भएका व्यक्तिहरूलाई व्यवहारिक ज्ञानसँगै स्वरोजगारको आधार तयार गरिदिएको उल्लेख गर्नुभयो।
समापन समारोहमा प्रमुख अतिथि सूर्य प्रसाद कन्दङ्गवालाई तालिमका क्रममा उत्पादन गरिएका झोल साबुन,फिनेल र हार्पिक अध्यक्ष होमनाथ राजबंशीले मायाको चिनोस्वरूप हस्तान्तरण गर्नुभएको थियो। त्यसैगरी तालिमका प्रशिक्षक यसोदा बरालले प्रशिक्षार्थीहरूलाई तालिममा उत्पादित सामग्री वितरण गर्नुभएको थियो।
तालिममा संघका सदस्यहरू अनिश दुलाल,सनोज विश्वकर्मा, फूलनदेवी राजबंशी, दिपक तामाङ, निवास राजबंशी, भिमकुमारी राजबंशी, जस्मिन खातुन, रोबिजा खातुन र प्रकाश खरेल लगायतका सहभागीहरूले सीप हासिल गरेको जानकारी दिइएको छ।
कार्यक्रमको सञ्चालन संघका सचिव दिलकुमार राजबंशीले गर्नुभएको थियो। समापन कार्यक्रममा प्रशिक्षार्थी, प्रशिक्षक, संघका पदाधिकारी तथा अन्य उल्लेख्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यस तालिमले अपांगता भएका व्यक्तिहरूलाई घरेलु उत्पादनमार्फत स्वरोजगार सिर्जना गर्ने अवसर प्रदान गर्नुका साथै उहाँहरूको आर्थिक सशक्तीकरण र सामाजिक आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

Comments
Post a Comment