आदिवासी जनजाति नेत्रहीन संघ झापाको दोस्रो अधिवेशन सम्पन्न
१७ जेठ शिवसताक्षी,झापा।
सदस्य उद्यमशीलता र कार्यालय भवन निर्माणको लागि भन्ने मूल नाराका साथ आदिवासी जनजाति नेत्रहीन संघ झापाको दोस्रो अधिवेशन शिवसताक्षी–११, दुधेस्थित आदिवासी जनजाति सामुदायिक भवनको सभाहलमा भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
संघका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षता तथा पूर्व पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि किरातीले कार्यक्रमको ब्यानर वाचन गर्दै औपचारिक रूपमा अधिवेशन उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रप्रति समर्पित राष्ट्रिय गान प्रस्तुत गरिएको थियो भने ज्ञात–अज्ञात शहीदहरूप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
यसै अवसरमा रोटरी क्लब दमक तथा रोट्रयाक्ट क्लब दमकको आर्थिक सहयोगमा संघका नेत्रहीन सदस्यहरू तथा अन्य गैर आदिवासी जनजाति समुदायका दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि उपलब्ध गराइएका सेतो छडी, स्लेट स्टाइलस लगायतका सहायक सामग्री संघका अध्यक्ष तथा प्रमुख अतिथि किरातीलाई हस्तान्तरण गरिएको थियो। सो अवसरमा क्लबका अध्यक्ष केशव कुमार अग्रवाल लगायतले यस्ता सहायक सामग्रीको आवश्यकता र महत्वबारे प्रकाश पार्नुभएको थियो। हस्तान्तरण गरिएका सामग्री कार्यक्रमका विशिष्ट अतिथि तथा अतिथिहरूको उपस्थितिमा संघका सदस्यहरूलाई वितरण गरिएको थियो।
कार्यक्रममा मौलिक तथा जातीय सांस्कृतिक प्रस्तुतिहरूले विशेष आकर्षण थपेका थिए। पाथीभरा महिला संगिनी समूह, शिवसताक्षी–९ तथा तामाङ धेदुङ शिवसताक्षीको टोलीले आकर्षक संगिनी तथा डम्फु नृत्य प्रस्तुत गर्दै उपस्थित दर्शकहरूको मन जितेका थिए। उत्कृष्ट सांस्कृतिक प्रस्तुति गर्ने दुवै टोलीलाई कार्यक्रमका विशिष्ट अतिथि प्राज्ञ सुमित्रा वाङ्देल चेली तथा नेपाली नागरिक क्रिश्चियन संघका राष्ट्रिय प्रवक्ता टिकाराम आचार्यले मायाको चिनो तथा नगद पुरस्कार प्रदान गर्दै सम्मान व्यक्त गर्नुभएको थियो।
कार्यक्रमकै क्रममा संघका सदस्यहरू कबिराज कुमाल, कौशल्या देवी गुरुङ र आनन्द सुमा राईलाई उहाँहरूको उल्लेखनीय योगदानको कदर गर्दै नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरी प्रमुख अतिथि र कार्यक्रमका अध्यक्षबाट सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूको तर्फबाट कौशल्या देवी गुरुङले कृतज्ञता मन्तव्य व्यक्त गर्नुभएको थियो।
अधिवेशनमा शिवसताक्षी–११ का वडा अध्यक्ष बहादुर आङ्बो, प्राज्ञ सुमित्रा वाङ्देल चेली, साहित्यकार धनकुटे कान्छा, नेपाली नागरिक क्रिश्चियन संघका टिकाराम आचार्य, समाजसेवी लिला प्रसाद दुलाल तथा आदिवासी अभियन्ता कृष्णकुमार थेबे लगायतले शुभकामना मन्तव्य राख्दै अधिवेशनको सफलताको कामना गर्नुभएको थियो।
प्रमुख अतिथि सुदन किरातीले आफ्नो मन्तव्यका क्रममा हालै नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक वर्षको बजेटमा धेरै त्रुटिहरू रहेको टिप्पणी गर्दै सबै समुदायलाई बजेटले समेट्न नसकेको गुनासो व्यक्त गर्नुभयो। उहाँले बजेटका कतिपय विषयहरू सच्याउन आवश्यक रहेको धारणा राख्दै संघको दोस्रो अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
संघका अध्यक्ष भोजकुमार तामाङले संघका सदस्यहरूको उद्यमशीलता विकास तथा संघको आफ्नै कार्यालय भवन निर्माणलाई आगामी दिनको प्रमुख एजेण्डा बनाइने बताउँदै त्यसका लागि सबै सदस्यहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले नेतृत्व तहले समेत यस विषयमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
सोही अवसरमा संघले स्थापना गरेको झापाली आदिवासी जनजाति नेत्रहीन सहारा छात्रवृत्ति कोषमा बिर्तामोड–५ निवासी स्वर्गीय अशल कुमार चेम्जोङको स्मृतिमा उहाँकी धर्मपत्नी गीता देवी तुम्रोक चेम्जोङले रु. एकाउन्न हजार एक सय नगद आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। त्यसैगरी शिक्षाप्रेमी कञ्चनजङ्घा अंग्रेजी स्कूलका संस्थापक स्वर्गीय गुरुभक्त न्यौपानेको स्मृतिमा उहाँका छोरा केशवराज न्यौपानेद्वारा प्रदान गरिएको रु. पचास हजार एक सय एकाउन्न रकम समेत उक्त कोषमा जम्मा गरिएको जानकारी गराइएको थियो। साथै दोस्रो साधारण सभा सफल बनाउन नेपाली नागरिक क्रिश्चियन संघको तर्फबाट रु.पाँच हजार आर्थिक सहयोग प्रदान गरिएको थियो। उक्त सम्पूर्ण रकम कार्यक्रममै संघका अध्यक्ष भोजकुमार तामाङलाई हस्तान्तरण गरी जिम्मा लगाइएको थियो।
कार्यक्रममा संघको तर्फबाट प्रमुख अतिथि पूर्वमन्त्री सुदन किरातीलाई अध्यक्ष भोजकुमार तामाङले सुम्निमा–पारुहाङको फ्रेम गरिएको तस्बिर मायाको चिनोस्वरूप प्रदान गर्नुभएको थियो। संघका सचिव तथा कोषाध्यक्षद्वारा वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष युवराज शेर्माले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कोषाध्यक्ष प्रदीप राजवंशीले गर्नुभएको थियो।
यसैबीच सञ्चारकर्मी सेलिङ केसीको संयोजकत्वमा गठित निर्वाचन मण्डलले आगामी तीन वर्षे कार्यकालका लागि पुनः भोजकुमार तामाङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको घोषणा गरेको छ। साथै थप दुई जना सदस्य अध्यक्षद्वारा पछि मनोनयन गरिने जानकारी पनि गराइएको थियो।
आदिवासी जनजाति नेत्रहीन समुदायको हक, अधिकार, सशक्तीकरण, उद्यमशीलता विकास तथा संस्थागत सुदृढीकरणको लक्ष्यसहित सम्पन्न भएको उक्त दोस्रो अधिवेशनले आगामी कार्यदिशा तय गर्दै एकता,सहकार्य र समावेशी विकासको सशक्त सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।
Comments
Post a Comment