इजलासको दशक उत्सव भव्य, म्यागेजिन विमोचन र सम्मान
२६ जेठ,झापा
पत्रिकाको प्रकाशक संस्था कम्पनी टाइम्स मिडिया नेटवर्क प्रालिका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बिर्तामोडस्थित साई पार्टी प्यालेसको सभाहलमा आयोजना गरिएको थियो।
राष्ट्रप्रति समर्पित राष्ट्रगान तथा ज्ञात–अज्ञात शहीदहरूप्रति एक मिनेट मौनधारण गरी सम्मान व्यक्त गर्दै सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि शर्माले दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा एसईई डान्सिङ कम्पिटिसनकी फाइनलिस्ट मनिता तामाङले ‘मेरो गीत’ शीर्षकको गीतमार्फत स्वागत नृत्य प्रस्तुत गर्दै उपस्थित दर्शकहरूको मन जित्न सफल भएकी थिइन्। उनको आकर्षक प्रस्तुतिले कार्यक्रमको सुरुआतमै विशेष रौनक थपेको थियो।
कार्यक्रममा १२८ पृष्ठको इजलास म्यागेजिन अध्यक्ष, प्रमुख अतिथि,विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो। विमोचनपछि म्यागेजिन उपस्थित अतिथि तथा सहभागीहरूलाई समेत वितरण गरिएको थियो।
म्यागेजिनमाथि चर्चा गर्दै नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले म्यागेजिनमा समसामयिक विषयवस्तुलाई सरल र प्रभावकारी ढंगले प्रस्तुत गरिएको,खोजमूलक तथा उपयोगी लेख–रचनाहरू समेटिएको र पाठकमैत्री ढंगले प्रकाशन गरिएको जानकारी दिनुभयो। उहाँले म्यागेजिन अध्ययनयोग्य र संग्रहणीय रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा झापा जिल्ला प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल,नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी,मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ्ग,तथा व्यवसायी मिजास पोखरेलले दशौं वार्षिकोत्सवको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि निर्मला शर्माले शुभकामना मन्तव्यका क्रममा सरकारले निजी सञ्चार माध्यमहरूमाथि विभेदपूर्ण व्यवहार गर्दै सरकारी विज्ञापनबाट वञ्चित गराएको भन्दै आपत्ति जनाउनुभयो। उहाँले लोकतन्त्रको सुदृढीकरणमा निजी सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सरकारलाई उक्त निर्णय सच्याउन आग्रह गर्नुभयो।
कार्यक्रममा पत्रिकासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका करिब ९० जना शुभेच्छुक तथा सहयोगीहरूलाई फूलमाला,सम्मानपत्रका साथ अभिनन्दन गरिएको थियो। प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले सम्मान प्रदान गर्नुभएको थियो भने सम्मानपत्र इजलास दैनिकका सम्पादक प्रदीप परियारले वाचन गर्नुभएको थियो।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै तथा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै सम्पादक परियारले इजलास दैनिकको दश वर्षे यात्राका तिता–मिठा अनुभवहरू सहभागीमाझ साझा गर्नुभएको थियो। उहाँले सीमित स्रोत–साधनका बीच पनि निष्पक्ष र जनपक्षीय पत्रकारितालाई निरन्तरता दिँदै यहाँसम्म आइपुग्न सफल भएको अनुभव सुनाउनुभयो।
कार्यक्रमका अध्यक्ष त्रिलोचन सापकोटाले दशौं वार्षिकोत्सव सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ र शुभेच्छा प्रदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो। आगामी दिनमा पनि इजलासलाई अझ सशक्त,विश्वसनीय र जनउत्तरदायी सञ्चार माध्यमका रूपमा अघि बढाउन सबैको शुभेच्छा, सुझाव र सहयोग आवश्यक रहने उहाँको भनाई थियो।
कार्यक्रममा झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बसुन्धरा खड्का, अरिदमन गण चारआली झापाका गणपति प्रमुख सेनानी सरोज थापा, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका गणपति अम्बिका प्रसाद जोशी, ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी सन्तोष पाठक,झापा ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष राई, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी,झापा इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक सुवास भट्टराई, पत्रकारितासँग सम्बन्धित विभिन्न संस्थाका अध्यक्ष तथा पदाधिकारी, समाजसेवी,व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा आयोजकको तर्फबाट प्रमुख अतिथि शर्मालाई अध्यक्ष सापकोटाले मायाको चिनो प्रदान गर्नु भएको थियो।
कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ झापाका सहसचिव रमेश तिवारीले गर्नुभएको थियो।
दश वर्षे सफल यात्रालाई उत्सवका रूपमा मनाएको इजलासको उक्त कार्यक्रमले पत्रकारिता,सामाजिक उत्दयित्व र समुदायसँगको सहकार्यलाई थप मजबुत बनाउने बिश्वास सहभागी हरुले गोडा थिए।

Comments
Post a Comment