फोनिज झापाद्वारा सञ्चार नीति र बजार प्रभावबारे अन्तरक्रिया
७ असार, बिर्तामोड
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको आयोजना तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा बिर्तामोडस्थित सीपी होटलको सभाहलमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षता तथा फोनिज संघीय उपाध्यक्ष अर्जुन जुम्लेली राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय भावनाले ओतप्रोत राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। त्यसपछि प्रमुख अतिथि राईले दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष राजवंशीले झापाका सञ्चार माध्यमहरूले हाल भोगिरहेका विभिन्न समस्या तथा चुनौतीहरू बुँदागत रूपमा प्रस्तुत गर्नुभयो। उहाँले पत्रकार तथा सञ्चारकर्मीहरू समयमै एकजुट भएर अगाडि नबढे आगामी दिनमा थप जटिल परिस्थितिको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने बताउनुभयो। सञ्चार क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा पत्रकारिताको व्यावसायिक भविष्य सुनिश्चित गर्न सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने उहाँको जोड थियो।
कार्यक्रममा फोनिज झापाका संस्थापक अध्यक्ष दिपिन राई,नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी,प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार,नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य,प्रेस युनियन झापाकी उपाध्यक्ष सबिना लिम्बु,नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले फोनिज झापाले समसामयिक र सञ्चार क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे गम्भीर बहस सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।
अन्तरक्रियामा दलित पत्रकार मञ्च झापाका अध्यक्ष मनकुमार गदाल, कान्तिपुर टेलिभिजनका गणेशमान मुखिया,चलचित्र पत्रकार मञ्च झापाका अध्यक्ष एकराज प्रधान,खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष इन्द्रजित मुखिया,पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे, फोनिज झापा कार्यसमिति सदस्य ताङ्साङ गगन लगायतले आफ्ना अनुभव,जिज्ञासा तथा धारणा राख्नुभएको थियो।
उहाँहरूले वर्तमान सञ्चार बजारको बदलिँदो स्वरूप,आर्थिक चुनौती,विज्ञापनको असमान वितरण तथा पत्रकारिताको दिगोपनका विषयमा आफ्ना विचार राख्दै पत्रकारहरूले बदलिँदो परिस्थितिमा कसरी टिकिरहन सक्छन् भन्ने विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि अर्जुन जुम्लेली राईले वर्तमान सञ्चार बजारको अवस्थाप्रति सरकार गम्भीर नदेखिएको टिप्पणी गर्दै सञ्चार क्षेत्रलाई कमजोर बनाउने खालको विभेदकारी विज्ञापन नीति खारेज गरिनुपर्नेमा जोड दिनुभयो। उहाँले फोनिज झापाले समयसापेक्ष र सान्दर्भिक विषय उठाएर बहसको वातावरण सिर्जना गरेको भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो।
कार्यक्रमका अध्यक्ष अर्जुन राजवंशीले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता अन्तरक्रियाले पत्रकारहरूको क्षमता अभिवृद्धि,एकता र पेशागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
फोनिज झापाका उपाध्यक्ष तिलक योन्जनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पत्रकार,सञ्चारकर्मी,पत्रकारजन्य संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन फोनिज झापाका सचिव सन्ताब बेघाले गर्नुभएको हो।

Comments
Post a Comment